
प्रतिनिधि सभामा जारी गतिरोध हटाउन भन्दै छलफलमा जुटेका प्रमुख दलका शीर्ष नेताको बैठक फेरि बस्नेगरी सकिएको छ । सभामुख देवराज घिमिरेको पहलमा संसद् सचिवालयमा सोमवार दिउँसो साढे १२ देखि बैठक शुरू भएको बैठक साढे २ बजे फेरि बस्नेगरी स्थगित भएको हो ।
शीर्ष नेताहरूको बैठक साढे ३ बजे फेरि संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी थिए । दलका सचेतकहरू पनि बैठकमा सहभागी थिए ।
शीर्ष नेताको बैठकका कारण दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन ।
सुन तस्करी सम्बन्धमा उच्चस्तरीय छानबिनको माग गर्दै एमालेले साउन १० देखि संसद् अवरुद्ध गरिरहेको छ ।