
नागरिकता विधेयक ऐन संशोधन भएर प्रमाणीकरण भएपछि हालसम्म जन्मको आधारमा ४३ हजार ३० जनाले वंशजको नागरिकता प्राप्त गरेका छन् । त्यसै गरी आमाको नामबाट ६५ जनाले नागरिकताको प्रमाणपत्र पाएका छन् ।
२०८० जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक नेपाल राजपत्रमा प्रकाशित भएपछि देशभरका जिल्ला प्रशासन कार्यालयहरूमार्फत जन्मको आधारमा तथा आमाको नामबाट नागरिकता दिने कार्य शुरू भएको थियो ।
गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाबाट प्राप्त विवरणअनुसार साउन २२ गतेसम्म जन्मको आधारमा वंशजको नागरिकता लिनेको संख्या ४३ हजार ३० जना रहेका छ । साथै आमाको नामबाट ६५ जनाले नागरिकता लिएका छन् ।
जन्मको आधारमा सबैभन्दा बढी सर्लाहीमा ५ हजार ५२५ जनाले नागरिकता लिएका छन् । यस्तै मोरङमा ५ हजार ४७७, रुपन्देहीमा ४ हजार ८४, पर्सामा ३ हजार ५२१ र सिरहामा ३ हजार ८५ जनाले वंशज नागरिकता प्राप्त गरेका छन् ।
त्यसैगरी नवलपरासी पश्चिममा २ हजार ८६४, झापामा २ हजार ५८४, महोत्तरीमा २ हजार ३४४, बारामा २ हजार १६९, धनुषामा २ हजार ८४, बाँकेमा २ हजार ४० जनाले जन्मको आधारमा नागरिकता पाएका छन् ।
यस्तै कपिलवस्तुमा १ हजार ५५२, प्युठान र बझाङमा समान १ हजार ४३९, रौतहटमा १ हजार ३५७, सप्तरीमा ७०३, नवलपरासी सुस्ता पूर्वमा ११६, उदयपुरमा ११२, चितवनमा २९९ जनाले जन्मको आधारमा नागरिकता पाएका छन् । त्यसै गरी इलाममा २९, ललितपुरमा १२, कैलालीमा ८९, दाङमा ४५, तेह्रथुममा ६, ताप्लेजुङमा ४, धनकुटामा ५, नुवाकोटमा २, पाल्पामा ४, पर्वत,दार्चुला र स्याङजामा क्रमशः १/१ जनाले जन्मको आधारमा नागरिकता लिएका छन् ।
त्यसैगरी आमाको नामबाट उदयपुरमा ९, ताप्लेजुङमा ११, तेह्रथुममा ३, बाग्लुङ र सिन्धुपाल्चोकमा समान ५/५ , रुकुम पश्चिम, रुकुम पूर्व, रसुवा, रामेछाप, स्याङजा र सुर्खेत, अछाममा र पाल्पामा क्रमशः ३/३ जना, धनकुटामा २ , पाँचथर, दोलखा र लमजुङमा क्रमशः १/१ जनाले नागरिकता लिएका छन् ।