०३ असार २०८३, बुधबार
गौर हत्याकाण्डको परकम्प

देउवामार्फत उपेन्द्रलाई प्रचण्डको सन्देश– ‘सरकार छाडे १२ को बदला १४ भित्र्याउँछु’

साउन २४, २०८०
काठमाडौं
देउवामार्फत उपेन्द्रलाई प्रचण्डको सन्देश– ‘सरकार छाडे १२ को बदला १४ भित्र्याउँछु’

आजभन्दा १७ वर्षअघि रौतहटको गौरमा २७ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले पीडितसँग सहमति गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादव झस्किएका छन् ।

गौर हत्याकाण्डको फाइल खोल्ने सुरसार गरेको भन्दै उपेन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार छाड्ने धम्की समेत दिएका छन् । 

गृह मन्त्रालयले पीडितसँग ५ बुँदे सहमति गरेलगत्तै मंगलवार उपेन्द्रले सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । 

मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकलगत्तै उपेन्द्रले देउवासँग भेट गरेका थिए । 

भेटमा उपेन्द्रले 'नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईं (देउवा)लाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठ्यारो पार्न लागेको' भनेर गुनासो गरेको स्रोतको दाबी छ ।

जसपा उच्च स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन आग्रह गरेका थिए । 

उपेन्द्रको सरोकारबारे बुधवार देउवाले प्रचण्डसँग छलफल गरेका छन् । 

बालुवाटारमा तीन दलको बैठकअघि प्रचण्ड र देउवाबीच भएको भेटमा यस विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ ।

‘गठबन्धनले उहाँ (उपेन्द्र)लाई विजयी गराएर संसदमा ल्याएको हो, यस्तो बेला सरकार छाड्नुहुन्छ र ओली (एमाले अध्यक्ष केपी शर्मा ओली)सँग जान्छु भन्नुहुन्छ भने केही छैन, १२ को बदला १४ भित्र्याउँछु,’ प्रचण्डले देउवालाई दिएको जवाफबारे जानकार जसपा स्रोतले लोकान्तरसँग भन्यो ।

प्रचण्ड र देउवाबीचको भेटपछि उपेन्द्रले देउवासँग टेलिफोन संवाद गरेका थिए । त्यसक्रममा देउवाले प्रचण्डसँग कुराकानी गरेको जवाफ दिएको स्रोतले बतायो ।

प्रचण्डले १२ को बदलामा १४ भनेर राप्रपातर्फ संकेत गरेका हुन् । संसद्मा राप्रपाका १४ र जसपाका १२ सांसद छन् । प्रचण्ड सरकारमा सहभागी राप्रपा ३२ दिनमै सरकारबाट बाहिरिएको थियो । 

राप्रपालाई केन्द्र सरकारमा भित्र्याउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने हिसाब प्रचण्डले देउवालाई सुनाएका थिए ।

गौर हत्याकाण्डको फाइल खुल्ने भयो भनेर त्रसित उपेन्द्रले मंगलवारदेखि नै भेटघाट र दौडधूप बढाएका छन् । यसक्रममा मंगलवार राति एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।

बालकोटस्थित ओलीको निवासमा भएको भेटमा उपेन्द्रले सरकार छाड्ने मनस्थितिमा पुगेको भन्दै नयाँ सरकारको सम्भावनाबारे समेत कुराकानी गरेको स्रोतको दाबी छ ।

जवाफमा ओलीले नयाँ सरकारका लागि जसपा मात्र आउँदा नपुग्ने बताएका थिए ।

‘तपाईंले छाडेर मात्र सत्ता परिवर्तन हुँदैन, तैपनि तपाईंको कदममा मेरो समर्थन रहन्छ भन्ने ओलीको भनाइ थियो,’ उपेन्द्रनिकट स्रोतले लोकान्तरसँग भन्यो ।

यस सम्बन्धमा उपेन्द्रले पार्टीका नेताहरूसँग पनि छलफल गरेका छन् । बुधवार पार्टी कार्यालय बालकुमारी उपेन्द्रले उपलब्ध केन्द्रीय कार्यकारिणी सदस्यसँग छलफल गरेका छन् ।

१७ वर्षअघि रौतहटको गौरमा माओवादीको सभा बिथोल्ने क्रममा भएको आक्रमणमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।

सो घटनामा उपेन्द्र यादवको हात रहेको पीडितहरूले बताउँदै आएका छन् ।

उक्त हत्यकाण्ड छानबिन गर्नेगरी मंगलवार गृह मन्त्रालयले पीडितसँग ५ बुँदे सहमति गरेको थियो । सो सहमतिलाई लिएर उपेन्द्र झस्किएका हुन् ।

उपेन्द्रले सरकार छाडेर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएमा प्रचण्डले संसदमा पुनः विश्वासको मत लिनुपर्ने छ ।

salt training

कमेन्ट गर्नुहोस्