१७ वर्षमा सम्पन्न गर्ने गरी वि.सं. २०३५ सालमा शुरू भएको लुम्बिनी गुरूयोजना झण्डै आधा शताब्दी बित्दा पनि पूरा हुन सकेको छैन ।
४५ वर्षको अवधिमा सरकारी र दातृ निकायको ठूलो धनराशि खर्च भइसक्दा समेत लुम्बिनी गुरूयोजना अधुरै रहेको हो ।
बौद्ध धर्मालम्बीहरूको पवित्र धार्मिक तीर्थस्थल लुम्बिनीको गुरूयोजना जापानका प्रख्यात वास्तुविद् प्रोफेसर केन्जो टांगेले सन् १९७२ देखि १९७८ सम्म ६ वर्ष लगाएर बनाएका थिए ।
राजनीतिक नियुक्तिमा आउने पदाधिकारीले लुम्बिनी क्षेत्रको विकास र विस्तारभन्दा गुरूयोजनाविपरीतका काम गर्दै आएकाले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित संस्था ओझेलमा पर्न थालेको छ ।

कर्मचारी र पदाधिकारीले आर्थिक लाभका लागि जथाभावी कोषभित्र भौतिक निर्माण अघि बढाउँदा लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्न सक्ने खतरा बढ्दै गएको छ ।
सरकारले आर्थिक वर्ष २०७०/०७१ देखि राष्ट्रिय गौरवको आयोजनामा समेत लुम्बिनीलाई राखेको थियो ।
बेबी बुद्धको मूर्ति, थाइल्यान्डको सूचना केन्द्र, बुद्ध प्रतिमा, शान्ति दीप, सभाहल तथा विभिन्न देशहरूले निर्माण गरेका गुम्बा गुरूयोजनाविपरीत बनेका हुन् ।
गुम्बा तथा चैत्य बनाउन विभिन्न देश तथा संस्थालाई एक–एकवटा ‘प्लट’ दिने नियम बनाए पनि आफूखुशी वितरण गरिएको छ ।
सत्ता र शक्तिको आडमा नियुक्त हुने पदाधिकारीका कारण लुम्बिनीको वृहत्तर विकासमा आघात पुगेको विज्ञले बताउँदै आएका छन् ।
गुरूयोजनाकार वास्तुविद् केन्जोले लुम्बिनी क्षेत्रभित्र तीर्थयात्रीले पूर्णतः बौद्ध वातावरण पाउने गाउँको परिकल्पना पनि गरेका थिए । तर, त्यो साकार हुने देखिएको छैन ।

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनीयर सरोज भट्टराईले गुरूयोजनाविपरीतका कुनै पनि काम नभएको दाबी गरे ।
‘लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्ने कुरा हुँदैन,’ उनी भन्छन्, ‘सम्बन्धित निकायले हामी विकास कोषभित्र नेपाली सेनाले बनाएको अस्थायी सभाहलको विषयलाई लिएर युनेस्कोले सचेतचाहिँ गराएको हो । अहिले बनेको ५ हजारजना अट्ने क्षमताको सभाहल मायादेवी मन्दिरबाट ५ किलोमिटर टाढा पर्छ । सुन्दर लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्ने कुरा आउँदैन ।’
भट्टराईले थपे, ‘अहिले हामी साढे दुई अर्बको काम गरिरहेका छौं । हामीलाई अब ५ अर्ब रूपैयाँ बजेट आवश्यक छ । यो वर्ष जम्मा ३५ करोड रूपैयाँमात्र बजेट छ ।’
गुरूयोजना कार्यान्वयनमा आएको ४५ वर्ष पुगिसक्दा बल्ल ८७ प्रतिशत काम भएको छ । गुरूयोजना सम्पन्न गर्न अझै साढे ७ अर्बभन्दा बढी रकम लाग्ने कोषले बताएको छ ।
लुम्बिनीलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने, विश्वभरका बौद्ध तीर्थयात्री र पर्यटकलाई आकर्षित गरेर विश्व शान्तिको मुहान बनाउने, बुद्धसँग सम्बन्धित लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामको एकीकृत विकास गर्न तयार गरिएको वृहत्तर लुम्बिनी विकास गुरूयोजना कार्यान्वयन गरी पर्यटन विकास गर्ने कोषको काम हो ।
लुम्बिनीको विकासका लागि भन्दै वि.सं.२००८ सालमा लुम्बिनी प्रबन्धक समिति र वि.सं. २०२७ सालमा लुम्बिनी विकास परियोजना स्थापना भएर काम भइरहेको थियो । वि.सं.२०४२ सालमा लुम्बिनी विकास कोष स्थापना भयो । यसबीचमा कोषमा १०९ जना राजनीतिक नियुक्ति पाएर पदाधिकारी परिवर्तन भए ।
संस्कृति तथा पर्यटनमन्त्री लुम्बिनी विकास कोषको पदेन अध्यक्ष रहने प्रावधान छ । विकास उपाध्यक्षको भूमिका ‘सेरेमोनियल’ रहन्छ । हाजिरी गर्न पर्दैन । तलबभत्ता पनि हुँदैन । नीतिगत तहमा मात्रै भूमिका हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्ध बढाउने तथा कोषको आय बढाउन पहल गर्ने कार्य उपाध्यक्षको हो । सम्पूर्ण कार्यकारी र प्रशासनिक भूमिका भने सदस्य सचिवको हुन्छ ।

हरेक सरकार परिवर्तनसँगै लुम्बिनी विकास कोषमा पदाधिकारी परिवर्तन हुँदै आएका छन् । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले हालै कार्यभार सम्हालेर काम शुरू गरेका छन् । नवनियुक्त उपाध्यक्ष लामाले गुरूयोजना विपरीतका काम आफूले रोक्ने पदभार ग्रहण कार्यक्रममा बताएका थिए ।
लामाले मायादेवी मन्दिर मर्मतका लागि ७ करोड रूपैयाँ आफूले व्यक्तिगत रूपमा उपलब्ध गराउने घोषणा समेत गरेका छन् । त्यसबाहेक विभिन्न दातृ निकायले ठूलो रकम सहयोग गर्दै आएका छन्, त्यसको हिसाबकिताब नै छैन ।
पछिल्लो समय पर्याप्त बजेट विनियोजन गर्दै आएको सरकारले सही काममा खर्च भए/नभएकोबारे अनुगमन र नियमन गर्न सकेको छैन । सरकारले लुम्बिनीको विकासका लागि करीब ७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले गुरूयोजना पूरा गर्नु सबैको दायित्व भएकाले टीमवर्कमा काम गर्न नयाँ उपाध्यक्षलाई सुझाव दिए ।
‘लुम्बिनीसँगै जोडिएका ७ वटा साइटमा पर्यटक बढाउनेदेखि गुरूयोजना पूरा गर्ने दायित्व उपाध्यक्ष हो,’ सदस्य सचिव शाक्यले भने, ‘हामी सबै मिलेर अब गुरूयोजना पूरा गरी लाग्नुपर्ने भएको छ ।’
संस्कृतिविद् डा. गितु गिरीले लुम्बिनीमा बनेका अनुचित कम्पोनेन्टदेखि गेटहरू समेत अबको उपाध्यक्षले रोकेर गुरूयोजनाअनुसार नै काम गराउन सक्नुपर्ने बताए । बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको प्रमुख आधार पनि हो ।
लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटकीय ‘चेन’ बनाएमा पर्यटकको बसाइ लम्ब्याउन सकिने सम्भावना पनि उत्तिकै छ । बुद्धका अनुयायीहरू आफ्नो जीवनमा एकपटक लुम्बिनी जसरी पनि पुग्नुपर्छ भन्ने भावना राख्छन् ।

विश्वभरमा बौद्ध धर्म मान्ने र बौद्धमार्गीहरूको संख्या अर्बको हाराहारीमा रहेको अनुमान छ । यति धेरै संख्यामा बौद्ध धर्मावलम्बी र बौद्धमार्गी हुँदा पनि नेपालले त्यसको फाइदा लिन नसकेको संस्कृतिविद् गिरीको भनाइ छ ।
विदेशी बौद्धिष्टहरू नगण्य मात्रामा लुम्बिनी आउँछन् । लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार, ब्रान्डिङ एवं मार्केटिङको अभावमा लुम्बिनीमा केही पर्यटक मात्र आउने गरेका छन् ।

त्यसमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी नेपाल भित्रिने पर्यटकहरू निकै कम आउने गरेका छन् । लुम्बिनी आउने विदेशी पर्यटकमध्ये ९० प्रतिशत बढी स्थलमार्गको बेलहिया (भैरहवा) नाका हुँदै आउँछन् ।
काठमाडौं आउने विदेशी प्रायः लुम्बिनी आउँदैनन् । त्यस्तै लुम्बिनी आउने धेरै अन्यत्र जाँदैनन् ।
