
सौरमासअनुसार साउनको अन्तिम सोमबार आज दुई लाखभन्दा बढी भक्तजनले पशुपति क्षेत्र गई भगवान् पशुपतिनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् ।
विगतका सोमबारभन्दा आज पशुपतिनाथलगायत राजधानीका अन्य शिवालयमा भक्तजनको धेरै भीड देखिन्थ्यो । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि भक्तजनको धेरै लाम लाग्ने भएकाले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए। पशुपतिनाथमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पनि दर्शन गरेको कोषले जनाएको छ ।
पशुपतिनाथलगायत राजधानीका शिवालयमा विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको आज दिनभर लाम लागेको थियो ।