२१ जेठ २०८३, बिहीबार

प्रमुख सचेतकसँग सभामुखको छलफल : आ-आफ्नै अडान दोहोर्‍याएर निस्किए दलहरू

भदौ ३, २०८०
काठमाडौं
प्रमुख सचेतकसँग सभामुखको छलफल : आ-आफ्नै अडान दोहोर्‍याएर निस्किए दलहरू

संसद्को अवरोध खुलाउन सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक र सचेतकसँगको छलफल विना निष्कर्ष सकिएको छ । आइतवार सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सत्ता र प्रतिपक्षी दलहरूले आ-आफ्नो अडान कायम राखेपछि बैठक विना निष्कर्ष सकिएको हो । 

६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ । सरकारले भने उच्च स्तरीय समिति नबनाउने अडानमा छ । 

आइतवारको बैठकमा पनि सत्ता प्रतिपक्षीले आ-आफ्नो अडान कायम राखेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । 'कुरा जहाँ अड्केको थियो, त्यहीँ छ,' बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, 'सत्ता र प्रतिपक्षी आ-आफ्नै अडानमा छन् । प्रतिपक्षीले झन् कडा रूपमा प्रस्तुत हुने बताएको छ ।'

आफूहरूले भने सदनलाई बन्धक बनाउन नहुने अडान राखेको उनले बताए । यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएकोले त्यसबाट निकास निस्किन सक्ने उनले आशा गरे ।

सदनको अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि अहिले राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दैछन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक र प्रमुख सचेतक सहभागी थिए ।

प्रतिनिधिसभा बैठक आजै दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्