
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र नभई दिने संस्कारको विकास गर्न आवश्यक भएको बताएका छन् ।
आज १७औं राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायमा घुस, ढिलासुस्ती, गलत निर्णय, अपारदर्शी व्यवहारलगायतका विषयमा सूचना दिन उत्प्रेरित गर्न कानूनी व्यवस्था गर्न जरुरी भएको बताए ।
“विश्वमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रयोग भएको नयाँ प्रविधिमा आधारित ‘ब्लकचेन टेक्नोलोजी’बारे अध्ययन गर्न आवश्यक छ”, उनले भने, “अब सार्वजनिक ओहदामा रहेका हरेक व्यक्तिको सम्पत्तिसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन जरुरी छ ।”
उनले सार्वजनिक पदाधिकारीको काम कारवाहीबारे जनताको कम निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच कम हुने अवस्थाका कारण भ्रष्टाचार मौलाउँदै जाने खतरा भएको बताए ।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना दिवसको शुभकामना दिँदै सूचनाको हकसम्बन्धी कानून लागु भएको लामो समयसम्म पनि नागरिकले यस हकको व्यापक प्रयोग गर्न नसकेको गुनासो गरे ।