नेकपा एमाले संघीय संसदमा जारी अवरोधका विषयमा थोरै लचिलो बन्ने भएको छ ।
संसद्मा प्रतिनिधित्व गर्ने ७ राष्ट्रिय दलको बैठकपछि बाहिरिने क्रममा एमाले प्रमुख सचेतक पदम गिरीले सांसदहरूलाई आफ्नो धारणा राख्न दिने विषयमा आफूहरू सकारात्मक रहेको बताएका हुन् ।
'उच्चस्तरीय छानबिन समिति गठनका सम्बन्धमा हाम्रो माग यथावत छ,' सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा आइतवार भएको छलफलबाट बाहिरिने क्रममा एमाले प्रमुख सचेतक गिरीले भने, 'तर, सांसदहरूलाई आफ्नो धारणा राख्न दिनुपर्छ भनेर आइरहेको कुराप्रति हामी सकारात्मक छौं ।'
आकस्मिक समय, विशेष समयसम्म पनि सांसदहरूलाई बोल्न दिने तर, यथास्थितिमा संसद्को नियमित कामकारबाही चल्न नसक्ने उनले बताए ।
आजको बैठक सकारात्मक रहेको भन्दै गिरीले अर्को बैठकसम्ममा उच्चस्तरीय छानबिन समिति गठनको सहमति हुन सक्ने पनि बताए ।
संसद्को आजको बैठक स्थगित हुनसक्ने सम्भावना रहेको भन्दै उनले अर्को बैठकअघि सहमति जुटिसक्ने आशा समेत व्यक्त गरे ।
त्रिभुवन विमानस्थल हुँदै भित्रिएको ६० किलो सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेर एमालेले संसद् अवरुद्ध गर्दै आएको छ ।