२४ जेठ २०८३, आइतबार
६० किलो सुन प्रकरण

सुनकाण्डको 'कनेक्सन' भारतमा बरामद १४७ केजी सुनसँग, सीआईबीले इन्टरपोलमार्फत माग्यो सहयोग

भदौ १०, २०८०
काठमाडौं
सुनकाण्डको 'कनेक्सन' भारतमा बरामद १४७ केजी सुनसँग, सीआईबीले इन्टरपोलमार्फत माग्यो सहयोग

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट बरामद ६० केजी सुन प्रकरणको कनेक्सन २ वर्षअगाडि भारतमा बरामद भएको १४७ केजी सुन तस्करीसँग जोडिएको छ । 

६० केजी सुन तस्करीको कनेक्सन भारतमा बरामद सुन र पक्राउ परेका ३ जना चिनियाँ नागरिकसँग देखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अधिकारीहरूले बताएका छन् ।

उनीहरूका अनुसार चिनियाँ नागरिक याओ पुचेङ, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा पक्राउ परेका थिए । भारतमा सन् २०२२ मे १२ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोबाटै ६१.५ केजी सुन बरामद भएको थियो ।

धाराको टुटी बनाएर ल्याएको सुन ‘गोल्डेन टप’ अपरेसन चलाएर भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले बरामद गरेको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त सुन हङकङबाट एयर कार्गो हुँदै भारत आएको थियो । 

त्यो भन्दा एक वर्ष अगाडि ‘मोल्टेन मेटल’ नामको अपरेसनमा बेलनाकार निकल बनाएर ल्याएको ८५.५ केजी सुन बरामद भएको थियो । 

त्यो पनि एयर कार्गोबाटै आएको डीआरआईले जनाएको थियो । 

‘भारतमा बरामद गरेको सुन र नेपालमा बरामद सुन तस्करीको प्याटर्न एउटै देखिन्छ,’ सीआईबीका एक अधिकारीले लोकान्तरसँग भने ।

नेपालमा पक्राउ परेका याओ पुचेङ्ग, ली वेन सुङ्ग र जिक्वान लिन भारतमा राजस्व चुहावटमा कारवाहीमा परेपछि नेपालमा आएर फेरि तस्करीमा संलग्न भएको देखिएको सीआईबी अधिकारीहरू बताउँछन् । 

प्रहरीले उनीहरूको कनेक्सन देखिएपछि थप अनुसन्धानका लागि इन्टरपोल भारत र इन्टरपोल हङकङलाई पत्राचार गरेको छ । त्यो बेलामा के भएको हो भन्ने विषयमा जानकारी लिनका लागि पत्राचार गरिएको प्रहरीले बताएको छ ।

‘प्रहरीले अनुसन्धानका लागि इन्टरपोलका जुनसुकै शाखालाई पनि सहयोग माग्न सक्छ । नेपालमा भएका अन्य एजेन्सीहरूसँग पनि सहयोग लिन सक्छ, त्यो अनुसन्धानको पाटो हो,’ प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतले लोकान्तरसँग भने । 

असार ३२  गते प्रहरीले टियान मी, वेन टोङ, डियाङ से फा र ली नेङकाइलाई पक्राउ गरेको थियो । प्रहरीले चिनियाँ नागरिकका ३ जना प्रेमिकालाई पनि पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको धुम्बाराही र मण्डिखाटारबाट पक्राउ गरिएको सीआईबीले स्रोतले जनाएको छ ।

राजस्व अनुसन्धान विभागले असार २ गते १५५ केजी ब्रेक शुमा रहेको ६० केजी सुन बरामद गरेको थियो । 

यस प्रकरणमा दोलखाको मेलुङ गाउँपालिका– ३ का दिलिप भुजेल र रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका– ४ का हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, चिनियाँ नागरिक जिक्वाङ लिन, राजन श्रेष्ठ, ट्रान्स ग्लोबस सर्भिसका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, भन्सार एजेन्टहरू यादव पराजुली र सुदर्शन गौतम, भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी (विमानस्थल भन्सार कार्यालय) कुमार ढकाल, नायब सुब्बा (भन्सारमा एक्सरे हेर्ने) सरोज श्रेष्ठ, नक्सालबाट (गोदाम खोजिदिएको आरोप) सुरेन्द्र तामाङ र बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

सीआईबीले अनुसन्धानको जिम्मा लिएपछि थप ९ जनालाई पक्राउ गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्