२१ जेठ २०८३, बिहीबार

गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल, बौद्धमा रोपाइँजात्राको तयारी

भदौ १५, २०८०
काठमाडौं
गाईजात्राको दोस्रो दिन उपत्यकामा चहलपहल, बौद्धमा रोपाइँजात्राको तयारी
फाइल फोटो

गाईजात्राको दोस्रो दिन काठमाडौँ उपत्यकामा चहलपहल देखिएको छ । यस वर्ष जनैपूर्णिमा र गाईजात्रा  बिहीवार एकैदिनदेखि शुरू भएकाले आज पनि केही स्थानमा गाईजात्रा मनाइँदैछ ।

राजधानीमा बिहानैदेखि मानिसलाई गाईका रुपमा सिँगारी बजार परिक्रमा गराउन सुरु गरिएको छ । विशेषगरी नेवार समुदायको बस्ती रहेका ठाउँमा गाईजात्रा पर्व भव्यरुपमा मनाउने गरिएको छ । प्रत्येक वर्ष भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन विभिन्न कार्यक्रम गरी गाईजात्रा पर्व मनाउने गरिन्छ । ​

वर्षभर दिवङ्गत भएका व्यक्तिका नाममा गाईजात्रा निकाल्ने परम्परा विशेषगरी नेवार समुदायमा मल्लकालदेखि चल्दै आएको छ । प्रताप मल्लले पुत्र शोकबाट विह्वल भएकी रानीलाई अरूका घरमा पनि मानिस मर्छन् भन्ने देखाउन गाईजात्राको परम्परा शुरू गरेको इतिहास छ । 

 
आजको गाईजात्रामा पनि गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकालाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिएको दृश्य देख्न सकिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

यही धार्मिक विश्वासका आधारमा आज पनि वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । गाईजात्राबाट पनि रानीको मन शान्त हुन नसकेकाले राजा प्रताप मल्लले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुती पाइन्छ । मल्लकालदेखि शुरू भएको गाईजात्रा अहिले काठमाडौं उपत्यकाको मौलिक पर्वका रुपमा स्थापित भइसकेको छ ।

बौद्धमा रोपाइँ जात्राको तयारी

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीयाका दिन बौद्ध क्षेत्रमा रोपाइँ जात्रा मनाउने प्रचलन छ । यसका लागि सबै तयारी पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । 

समितिको संयोजनमा बौद्ध क्षेत्रका सबै संस्थाको सहभागितामा जात्रा मनाउन लागिएको हो । सांस्कृतिक झाँकी, बाजा गाजासहित उपस्थित लाठे, रोपाहारलगायत कलाकारले बौद्धबाट टुसालसम्मका क्षेत्रमा झाँकी प्रदर्शनसमेत गरी रोपाइँ जात्रा मनाउने तयारी भएको हो । 
   
रोपाइँ जात्रा बौद्ध क्षेत्रको मौलिक पर्वका रुपमा स्थापित भएको छ । गाईजात्राको तेस्रो दिन अर्थात् भाद्रकृष्ण तृतीयाका दिन जगवागेश्वरीमा पनि रोपाइँजात्रा आयोजना गरिन्छ । 

भाद्र कृष्ण प्रतिपदाका दिन सुरु भएको गाईजात्रा अष्टमीका दिनसम्म मनाउने परम्परा छ । जात्रा हेर्न विदेशीय पर्यटकको पनि भिड लाग्ने गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्