
विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि ‘नेपाल ईभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला शुरु भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिए । उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताए ।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेश हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ। विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि देशभर नै चार्जिङ स्टेसनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । यस्तै, नेपाल विद्युत प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेसन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन् ।
वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताए ।
विद्युतीय सामग्रीको प्रयोगमा बढावा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ ।