
नेकपा एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशन भोलि (शनिवार)देखि शुरू हुँदैछ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनको पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
अधिवेशनले नयाँ नेतृत्व र नीतिगत स्पष्टता छनोट गर्नेछ । अधिवेशनको लागि प्रदेशका १२ वटा जिल्लाका १०९ स्थानीय तहबाट गरी १ हजार ४ जना प्रतिनिधि छानिएर बुटवल आएका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बुटवल शुक्रवार आयोजित पत्रकार सम्मेलनका जानकारी दिए । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष कँडेलले बताए ।
उद्घाटन शत्रमा पार्टीका उपाध्यक्षहरू विष्णु पौडेल, युवराज ज्ञवाली, महासचिव शंकर पोख्रेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा एवं सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल लगायतका नेताहरू बुटवल आउने कार्यक्रम छ ।

‘पार्टी जीवनमा यो प्रादेशिक अधिवेशन विविध कारणले अर्थपूर्ण हुनेछ’ कँडेलले भने, ‘सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेशले पहिलोपटक यो अधिवेशन गर्दैछौं । साथै यसले पार्टी जीवनलाई संघीयढाँचा अनुरुपमा लगेर नयाँ नेतृत्व चयन गर्ने भएकोले यो आफैंमा ऐतिहासिक महत्वको पनि छ ।’
सम्मेलनमा रुपन्देहीबाट, १६४, कपिलवस्तुबाट ७२, दाङबाट १३१, बाँकेबाट ५४, बर्दियाबाट ७४, रुकुम पूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि सहभागी हुनेछन् ।
एमालेले हालको करिब छ सय जना रहेको प्रदेश कमिटीलाई संक्रमणकालीन भन्दै यो संख्यालाई घटाएर चुस्त बनाउने भएको छ । अब आउने अधिवेशनले २०५ जनाको प्रदेश कमिटी चयन गर्नेछ । यसअघिको कमिटीमा केन्द्रबाटै बनेको कमिटीमा ६०१ जना छन् ।

एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २०५ जनाको नेतृत्व चयन गर्ने छ । एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले पार्टी गुटबन्दी नभएको बताउँदै स्वस्थ प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन हुने बताए ।
पार्टीका प्रदेश इन्चार्ज पद्मा अर्यालले लुम्बिनी प्रदेशमा पार्टी आगामी निर्वाचनमा एक नम्बर बनाउने गरी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताइन् । बढीमा तीन दिनभित्र नयाँ नेतृत्व चयन गरी अधिवेशन सकिने अर्यालले जानकारी दिइन् ।