०७ साउन २०८३, बिहीबार

बालेनको सचिवालयले भन्यो – विशेष अवस्थामा मेयर पत्नीले सरकारी गाडी प्रयोग गर्नुपर्‍यो

भदौ १७, २०८०
काठमाडौं
बालेनको सचिवालयले भन्यो – विशेष अवस्थामा मेयर पत्नीले सरकारी गाडी प्रयोग गर्नुपर्‍यो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले विशेष परिस्थितिमा मेयर पत्नीले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको प्रष्टीकरण दिएको छ ।

शुक्रवार राति कोटेश्वरमा मेयर पत्नी सविना काफ्लेलाई ट्राफिक प्रहरीले सोधपुछ गरेको घटनाका विषयमा मेयर शाहको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।

मेयर बालेनका स्वकीय सचिव भुपदेव शाहले विज्ञप्ति जारी गर्दै विशेष अवस्थामा सरकारी गाडी प्रयोग गर्नुपरेको उल्लेख गरेका छन् । ‘२०८० भदौ १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएकी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र उहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सविना काफ्ले अस्पताल जानुभएको थियो’ विज्ञप्तिमा उल्लेख छ, ‘आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयूमा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९ः०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए ।’

मानवीय संवेदनामा प्रहरीले सामान्य मर्यादासमेत नदेखाएको आरोप विज्ञप्तिमार्फत लगाइएको छ । ‘सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे । नगर प्रमुखसहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो । प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे’ विज्ञप्तिमा उल्लेख छ, ‘सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवं नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।’ 

तर बिदाको दिनमा सरकारी गाडी प्रयोग गरेको विषयमा चेकजाँच क्रममा प्रहरीले दुई मिनेटसम्म सामान्य सोधपुछ गरेर छोडेको जनाए पनि महानगरले प्रहरीबाट उल्टै दुःख पाएको दाबी गरेको छ । 

श्रीमतीको गाडी प्रहरीले रोकेको भन्दै मेयर बालेनले सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए । तर उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा मेयर शाहको फसबूक स्टाटसको विषयमा केही लेखिएको छैन ।

कमेन्ट गर्नुहोस्