२७ जेठ २०८३, बुधबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : लुम्बिनीमा एमाले महासचिवलाई झड्का, निवर्तमान उपराष्ट्रपतिका छोरासँग बयान

भदौ २०, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : लुम्बिनीमा एमाले महासचिवलाई झड्का, निवर्तमान उपराष्ट्रपतिका छोरासँग बयान

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ। सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ६० केजी सुन प्रकरणमा अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको बयान (कागज) लिएको छ । 
सीआईबी स्रोतका अनुसार यस प्रकरणमा जोडिएका एक सय जनाको कागज बयान भइरहेको छ । 
‘सीआईबी यस केसमा १०० जनाको कागज गरिरहेको छ, त्यसमध्येमा परेका उहाँको पनि कागज भइसकेको छ,’ स्रोतले भन्यो ।
००००
त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको ६० केजी सुन तस्करीमा संलग्नताको आशंकामा सीआईबीले निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग बयान लिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङसँगको कनेक्सनका आधारमा सीआईबीले दीपेशसँग सोमवार बयान लिएको हो ।
००००
कांग्रेस सभापति शेरबहादुर देउवाले भारत र चीन दुवैलाई नेपालले सम्झाउन सक्नुपर्ने बताएका छन् । 
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले नजिकका छिमेकीलाई चिढ्याउनेभन्दा सन्तुलन मिलाएर अगाडि बढ्नुपर्ने बताएका हुन् । 
‘चीन र भारत हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यतात्मक छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ,’ देउवाले भने, ‘अरु देशलाई साथी बनाउन सकिन्छ तर छिमेकी बनाउन सकिँदैन । भारत र चीन नेपालका नजिकका छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरूले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलमा बोलाएपछि मंगलबार दिउँसो ओली सिंहदरबार पुगेका हुन् । 

भेटमा संसद्मा रहेका विधेयक र समसामयिक राजनीतिबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।
००००
भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रस्ताव अनुमोदन गरेको छ । भारतले नेपालबाट बिजुली किन्न उक्त प्रस्ताव स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शंकप्रसाद शर्माले बताए । 

यसअघि गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गरेको सम्झौतालाई नै त्यहाँको मन्त्रिपरिषदले अनुमोदन गरेको हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो ।
००००
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भएका छन् ।
बुटवलको अन्तर्राष्ट्रिय सभाहलमा मंगलवार राति सम्पन्न मतगणनाको परिणामअनुसार अध्यक्षका प्रत्यासी हरि रिजाललाई २ मत मतले पराजित गर्दै कँंडेल विजयी भएका हुन् ।

विजयी कँंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिए । 
कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो । नतिजाले शंकर पोखरेललाई आफ्नो गृह प्रदेशमा झड्का लागेको छ । 
००००
स्वतन्त्र प्रदेशसभा सदस्य अनिरुद्धप्रसाद सिंह यादवलाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ । कर्तव्य ज्यान मुद्दामा जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
००००
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले १० जना इन्स्पेक्टरहरुको काज सरुवा गरेको छ । 
आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले विभिन्न कार्यलयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुलाई अर्को आदेश नभएसम्मका लागि नयाँ ठाउँमा काज खटाइएको जनाइएको छ ।
००००
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था र तस्करी नियन्त्रणलाई चुस्त पार्न निर्देशन दिएका छन् ।

विमानस्थलबाट सुन, लागुऔषत, तथा अवैध मुद्रा तथा सामानको तस्करीका घटना सार्वजनिक भइरहेका बेला मंगलबार विमानस्थल सुरक्षा कार्यालयको स्थलगत निरीक्षण भ्रमण र ब्रिफिङ लिन पुगेका महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिए ।
००००
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पार्टीकै नेताहरू डा चन्द्र भण्डारी र महेन्द्र रायले भेटेका छन् ।

उनीहरूले मंगलवार सुुन्धारास्थित केन्द्रीय कारागारमा पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता खाँणलाई भेटेको त्यहाँको प्रशासनले जनाएको छ । 
००००
सरकारले ५८ जना सहसचिवको सरुवा गरेको छ । संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवहरूको सरुवा गरिएको हो ।
संघीय मामिला मन्त्रालयका सहसचिव बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय पठाइएको छ । त्यस्तै सोही मन्त्रालयका हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।
००००
नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ ।
वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक रु पाँच हजारका दरले तलब प्रदान गर्ने  सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो ।
००००
एसिया कप क्रिकेटमा भारतसँग पराजित भए पनि नेपाली खेलाडीले मेडल पाएका छन् । गएराति वर्षाले प्रभावित हुँदा ओभर छोट्याइएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो । तर, हारे पनि नेपाली खेलाडीले मेडल थापेका हुन् । 

नेपाल क्रिकेट संघ (क्यान)ले राखेको भिडियोमा भारतका प्रशिक्षक राहुल द्रविड, खेलाडी विराट कोहली र हार्दिक पाण्ड्याबाट तीन खेलाडीले मेडल थापेको देखिन्छ । 
००००
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शा०ले संघीय सरकारले जग्गा उपलब्ध गराए श्रीलंकाकै स्तरको क्रिकेट रंगशाला बनाउन पहल गर्ने बताएका छन् । सोमबार नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेका उनले मंगलबार बिहान सरकारले जग्गा उपलब्ध गराए रंगशाला बनाउन महानगरले पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । सोमबार भएको खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको थियो ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।        

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग आयोगका अध्यक्ष तथा पदाधिकारीले गरेको भेटवार्तामा उनले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
००००
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि नै शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा टेबुल हुने बताएका छन् ।
मंगलवार सिंहदरबार पुगेको नेपाल शिक्षक महासङ्घको टोलीलाई उनले यस्तो जानकारी गराएका हुन् ।
००००
नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक मंगलबार ६ दशमलव ४५ अङ्कले ओरालो लागेर १ हजार ९ सय ६१ दशमलव ३७ अंकमा पुगेको छ ।
 कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्