
बर्दियामा एक कैदी दोस्रो पटक भागेका छन् । कारागार कार्यालय बर्दियाको पर्खाल नाघेर टोपे भन्ने अजिब बुढाक्षेत्री फरार भएका हुन् ।
भदौ १७ गते बिहान ०३ः१५ बजेको समयमा सुतैया, ठाकुरबाबा नगरपालिका–८ का उनी फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
२०७२ फागुन ५ गते हत्याको आरोपमा उनलाई बर्दिया जिल्ला अदालतबाट १९ वर्ष ११ महिना ६ दिन कैद सजायको फैसला भएको थियो । तर उनी सोही वर्षको फागुन ३० गते अदालत परिसरबाटै भागेका थिए । भागेको समेत कसुर जोडी ३० वर्ष कैद सजायको फैसला भएका उनलाई २०७९ कात्तिक २१ गते पक्राउ गरी कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया दाखिला गरिएकोमा भदौ १७ गते फेरि भागेका हुन् ।
प्रहरीले खोजी कार्य भईरहेको भन्दै उनको बारेमा कुनै पनि जानकारी भएमा जिल्ला प्रहरी कार्यालय बर्दिया वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेको छ ।
३० वर्ष उमेरका उनको उचाई अन्दाजी ५ फिट ७ ईन्च रहेको छ भने दाहिने हातको नाडी नजिक सानो पेस्तोलको ट्याटु रहेको छ । यस्तै दाहिने छातीको माथिल्लो भागदेखि कुमसम्म डमरुको ट्याटु रहेको छ ।
बोल्ने क्रममा हिन्दी लवजमा नेपाली बोल्ने उनी बर्दिया, आसपासका जिल्लाहरु वा भारततर्फ लुकेर बसेको हुनसक्ने भन्दै प्रहरीले खोजी तीव्र बनाएको छ ।