०६ साउन २०८३, बुधबार
राउण्ड अप

२४ घण्टाका शीर्ष समाचार : नेम्वाङको असमायिक निधन, सुन तस्करीको अनुसन्धान प्रतिवेदन तयार

भदौ २७, २०८०
काठमाडौं
२४ घण्टाका शीर्ष समाचार :  नेम्वाङको असमायिक निधन, सुन तस्करीको अनुसन्धान प्रतिवेदन तयार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि आज दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने भएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने एमालेले जनाएको छ । 

नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार राति हृदयघातका कारण निधन भएको थियो ।
००००
नेम्वाङको अन्त्येष्टिका दिन भदौ २८ गते बिहीवार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । 

उक्त दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आधा झण्डा निर्णय भएको गृहका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले संविधान निर्माण र गणतन्त्र स्थापनामा खेलेको भूमिकाको कदर गर्दै यस्तो निर्णय गरिएको गृहले जनाएको छ । यसअघि मन्त्रिपरिषद्ले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । 
००००
संविधानसभा अध्यक्ष, पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनपछि प्रतिनिधिसभा बैठक सरेको छ । बुधवार दिउँसो १ बजे बस्ने तय भएको बैठक बिहीवार ३ बजेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
००००
त्रिवि शिक्षण अस्पतालले एमाले उपाध्यक्ष सुवास नेम्वाङको मृत्युबारे आधिकारिक धारणा बाहिर ल्याएको छ ।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा सन्तकुमार दासले आज एक विज्ञप्ति जारी गर्दै अस्पताल ल्याइपुर्याउँदा नेम्वाङमा जीवनसम्बन्धी कुनै चाल नदिएको बताएका छन् ।

त्यसबखत उनका आँखाका नानीहरू फुलिसकेका र स्थिर रहेका अस्पतालले जनाएको छ । ‘नेम्वाङलाई सोमवार राति १ः१५ बजे उपचारका लागि ल्याइएको थियो । जाँच गर्दा उहाँमा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो । आँखाका नानीहरू फुलिसकेका र स्थिर रहेका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘३५ मिनेटसम्म पनि सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएकाले ३ बजे मृत घोषणा गरिएको थियो ।’
०००००
मंगलबार नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत विभिन्न पार्टीका शीर्ष नेताहरू ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा पुगेका थिए । 

कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताहरूले च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएका हुन् । नेम्वाङको निधनले कम्युनिस्ट आन्दोलन र राजनीतिक क्षेत्रमा अपुरणीय क्षति पुगेको नेताहरुले बताएका छन् ।

यसैबीच नेम्वाङको निधनमा एमालेले तीन दिन शोक मनाउने भएको छ । 
००००
भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।
००००
लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको करिब ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन  बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउन लागेको छ । 

सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने तय भएको सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् ।
००००
अटो व्यवसायीहरूको कुम्भमेला नाडा अटो शोको १५ औं संस्करण आइतवारदेखि भृकुटीमण्डमा जारी छ । गाडी तथा मोटरसाइकलहरूको किनबेच, बुकिङ, नयाँ सवारीको जानकारी र विशेषताका कारण ग्राहक आकर्षित गर्ने उद्देश्यले मेला आयोजना भएको आयोजक संस्था नाडाले जनाएको छ ।
००००
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।
खेलाडी सङ्घले  ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए ।
००००
दुई समूहमाथि दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार भएको पाइएको छ । दोहरो झडप हुँदा उनी घाइते भएको प्रहरीले जनाएको छ ।
००००
लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट ग्रसित पराजुलीको उपचारको क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा बिहान निधन भएको हो । पराजुलीका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
००००
यही शुक्रवारबाट प्रदर्शनमा आउने झरना थापा निर्देशित फिल्म ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ । 
केन्द्रीय चलचित्र जाँच समितिले यो फिल्मलाई मंगलवार ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । अब सबै उमेर समूहका दर्शकले यो फिल्म हेर्न पाउनेछन् । सेन्सर बोर्डले फिल्ममा समावेश कुनै दृश्य र संवादमा कैंची चलाएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्