
ललितपुर, ४ असोज– म्यान्मारमा रोहिंग्या समुदायमाथि भइरहेको हिंसा र जातीय सफाया रोक्न दबाब स्वरुप नेपालस्थित म्यान्मार दूतावास अगाडी प्रदर्शन भएको छ । एम्नेस्टी इन्टरनेसन नेपालले बुधबार ललितपुरको नख्खुमा रहेको म्यान्मार दूतावास अगाडी एक घण्टा प्रर्दशन गरेको हो ।
म्यान्मारमा रहेको अल्पसंख्यक रोहिंग्याहरुको जातीय सफाया भइरहेको भन्दै रोहिंग्याविरुद्ध भैरहेको हिंसा र मानव अधिकार दुव्र्यवाहार अभियान अन्त्य गर्न माग गर्दै प्रदर्शन गरिएको आयोजकहरुले बताए । म्यान्मारमा गत अगस्ट महिनाको दुई सातामा मात्रै ३ लाख ७० हजार रोहिंग्याहरु म्यान्मारबाट भाग्न बाध्य भएका छन् ।
एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले नेपाल सरकारले कुटनीतिक नियोग मार्फत म्यान्मारलाई दबाब दिएर उनीहरुलाई स्वदेश फर्काउन सहयोग गर्नुपर्ने बताए ।
नेपालमा पनि सन् २०१२ देखि म्यान्मारबाट भागेर आएका ३ सय भन्दा बढि रोहिंग्या शरणर्थी रहेको र अहिले पनि नेपालमा आउने क्रम जारीरहेको भन्दै एमेनेष्टीले तत्काललाई नेपाल सरकारले बस्नु दिर्नुपर्ने माग राखेको थियो ।