
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ ।
निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज राति इजरायल पठाउन लागेको हो । प्रतिष्पर्धाबाट छनौट भएको कम्पनीले इन्जिन मर्मत गर्न लागेको निगमले स्पष्ट पारेको छ । जहाज राति ११ः३० बजे इजरायल उडान गर्नेछ।
निगमको नाईन एन–एकेएक्स (9N-AKX) जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको सम्झौताअनुसार पठाउन लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
एमआरओ कम्पनीले १८ सेप्टेम्बरलाई स्लट दिएको र त्यसका लागि जहाज पठाउन लागिएको विज्ञप्ति मार्फत पौडेलले जनाएका छन् । यो जहाज मर्मतपछि २२ सेप्टेम्बर २०२३ मा काठमाडौं फर्कनेछ ।
गत १२ जुन २०२३ मा ४५ दिनको म्याद राखेर भएको टेण्डर अनुसार एमआरओ कम्पनीसँग मर्मत सम्झौता भएको निगमले जनाएको छ ।
जहाज ग्राउन्डेड हुनुभन्दा पहिला जुलाई महिनामै सार्वजनिक खरिद ऐन तथा निगमको आर्थिक विनियमावली अनुसार ४५ दिनको म्याद दिई लिज सहितको इन्जिन मर्मतको लागि खुला प्रतिस्पर्धा हुने गरी शिल टेन्डर आह्वान गरिएको थियो ।
नियमानुसार छनौट भएको एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीजसँग लिजसहितको इन्जिन मर्मत गर्न सम्झौता गरिसकिएको निगमले जनाएको छ ।
जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो । जहाजको इन्जिन मर्मत गर्नुपर्ने पूर्वसूचना दिने साधनहरू इन्जिन हेल्थ मोनिटरिङ, वोरोस्कोप तथा भौतिक निरीक्षण भएता पनि हालको इन्जिन मर्मत गर्नुपर्ने भनी वोरोस्कोप गरेपछि मात्र थाहा भएको निगमले उल्लेख गरेको छ ।
जहाज पुगेको ४/५ दिनमै अर्को इन्जिन जडान गरी यो जहाज सेवामा आउने निगमले जनाएको छ ।
प्राविधिक कारणले जहाज ग्राउण्डेड हुन गई यात्रु वर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गरेको छ ।
निगमको विज्ञप्ति
यसैबीच, निगमका निर्देशकहरू उपेन्द्र पौडेल, देवकृष्ण सन्जेल, पोषक ज्ञवाली लगायत १५ जना निगमका कर्मचारीहरूले शुक्रवार नै विज्ञप्ति प्रकाशित गरी पाटपुर्जामा बेलाबखत समस्या आउन सक्ने भएकोले नियमित मर्मत सम्भार आवस्यक रहेको बताएका छन् ।
‘वायुयान एक विशिष्ट प्राविधिक यन्त्रबाट संचालन हुने यान्त्रिक बस्तु भएकोले यसका विभिन्न पाटपुर्जामा बेलाबखत समस्या आउन सक्ने हुँदा तोकिएको मापदण्डभित्र रही मर्मत सम्भार पश्चात् नियमित उडान सञ्चालन गर्नु एक सामान्य अभ्यास रही आएको छ’ प्राविधिहरु सहित नियमका १५ अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरुको विज्ञप्ति
