
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५ दशमलव ८ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै साउनमा २५ दशमलव ८ प्रतिशतले रेमिट्यान्स बढेको जनाएको हो ।
२५ दशमलव ८ प्रतिशतले वृद्धि भइ साउनमा रेमिट्यान्स १ खर्ब १६ अर्ब २ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा २० दशमलव ३ प्रतिशतले रेमिट्यान्स बढेको थियो ।
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या भने १२ प्रतिशतले कमी आएको छ । साउनमा ३९ हजार १ सय ५२ जनाले श्रम स्वीकृति लिएका छन् । यस्तै १६ हजार ४ सय २३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
राष्ट्र बैंकले देशको सोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको जनाएको छ । चालू खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।