३० असार २०८३, मंगलबार

कोशीमा एमालेले खोज्यो एकीकृत समाजवादीको साथ, यसअघि बोलचाल नै बन्द भएका पूर्वमुख्यमन्त्रीबीच छलफल

असोज १, २०८०
विराटनगर
कोशीमा एमालेले खोज्यो एकीकृत समाजवादीको साथ, यसअघि बोलचाल नै बन्द भएका पूर्वमुख्यमन्त्रीबीच छलफल

नेकपा (एमाले)ले कोशी प्रदेशमा सरकार टिकाउनका लागि आफैँबाट अलग भएको दल नेकपा (एकीकृत समाजवादी)को साथ खोजेको छ ।  सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मत कार्कीले एकीकृत समाजवादीको साथ खोजेका हुन् । मुख्यमन्त्री कार्कीले एमालेका नेतासमेत रहेका पूर्वमुख्यमन्त्री शेरधन राईमार्फत छलफल अघि बढाएका छन् । 

आइतवार धरानको एक होटलमा शेरधन र एकीकृत समाजवादीका सचिव तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले छलफल गरेका छन् । शेरधनकै आग्रहमा दुई घण्टा छलफल भएको राजेन्द्रले बताए ।  

‘मध्यावधिमा नजानका लागि अहिलेको सरकारलाई समर्थन गर्न शेरधनजीले आग्रह गर्नुभयो,’ राजेन्द्रले लोकान्तरसँग भने ‘उहाँले आलो-पालोको पनि प्रस्ताव राख्नुभयो । मैले अहिलेको सरकारलाई समर्थन गर्न नसक्ने प्रस्टसँग भनेँ । यसपछि बन्ने सरकारका विषयमा छलफल गर्न सकिन्छ पनि भनेको छु । ’

संविधानको धारा १६८ (३) अन्तर्गत सबैभन्दा ठूलो दलको हैसियतमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले विश्वासको मत प्राप्त गर्न नसके धारा ५ अनुसार सरकार बन्छ ।  भेटमा १६८ को ५ अन्तर्गत बन्ने सरकारमा पनि एमालेलाई पहिलो पालो विश्वास गर्न नसक्ने राजेन्द्रले बताएको उनी निकट नेताले बताए । 

एकीकृत समाजवादीले भने अहिले कै सरकारलाई नसघाउने बताउँदै आएको छ । राजेन्द्रले  छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको स्पष्ट पारे । 

दुवै पूर्वमुख्यमन्त्री भोजपुरकै हुन् । उनीहरूबीच लामो समयदेखि बोलचाल नै  बन्द थियो । २०७७ पुसदेखि उनीहरूबीच बोलचाल नै नभएको बताइएको छ । तत्कालीन प्रदेश १ का मुख्यमन्त्री रहेका शेरधनलाई अविश्वासको प्रस्ताव ल्याउन राजेन्द्रले प्रमुख भूमिका खेलेका थिए । त्यसपछि उनीहरूबीच संवादसमेत नभएको नेताहरूले बताएका छन् । राजेन्द्र एमालेमा हुँदा पनि शेरधनको कडा आलोचक थिए ।

शेरधनले पनि राजेन्द्रसँग छलफल भएको बताएका छन् । प्रदेशको निकास दिने विषयमा दुई नेताबीच छलफल भएको उनले बताए । ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशमा अफ्ठयारो परिस्थिति बन्न सक्छ के तपाईँ मध्यावधिमा जान तयार हुनु भएको हो ? भनेर मैले सोधेको थिएँ,’ शेरधनले भने ‘उहाँले पनि छलफल गर्न सकिन्छ भन्नुभयो ।’

दुई नेताबीच प्रदेशलाई स्थायित्व दिने विषयमा छलफल भएको जानकारी दिँदै शेरधनले भने, ‘हामी एकै जिल्लाका दुईजना भएपनि लामो समयदेखि छलफल भएको थिएन, आज भयो ।’ 

salt training

कमेन्ट गर्नुहोस्