
नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता तयारी गरेपछि शिक्षक आन्दोलन सुस्ताएको छ । नेतृत्व वार्ताको तयारीमा जुटेपछि शिक्षासम्बन्धी विधेयकमा असहमति जनाउँदै आन्दोलनरत शिक्षकहरू काठमाडौंको माइतीघरमा केन्द्रित भएका छन् ।
बुधबारदेखि नयाँ बानेश्वरसम्म पुग्ने गरेका उनीहरू आज भने माइतीघरमै बसेका छन् । बानेश्वरतर्फ फाट्फुट्ट केही शिक्षक मात्रै पुगेर फर्किने गरेका छन् । बानेश्वतर्कको सडक खालीजस्तै देखिएको छ । शिक्षक आन्दोलनका कारण बानेश्वर माइतीघर सडकमा सवारी साधन भने चल्न दिइएको छैन ।

माइतीघरमा बसेर उनीहरूले नाचगान गर्दै 'टाइमपास' गरिरहेका छन् । विधेयकको विरोधमा गीत गाउँदै उनीहरू नाचगान गरिरहेका हुन् ।
यता आन्दोलनको अगुवाइ गरिरहेको महासंघले भने सरकारसँग निर्णायक वार्ता गर्ने तयारी गरेको छ । महासंघले सरकारसँग छलफलका लागि वार्ता टोली बनाउन आन्तरिक छलफल गरिरहेको छ ।
गृहमन्त्रालयमा शुक्रवार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रीहरूसँगको छलफलपछि महासंघले वार्ता टोली बनाउन लागेको हो ।