
नेपाली कांग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद्मा एग्रेसिभ र अधैर्य देखिएको बताएका छन् ।
संघीय संसद्मा भएका गतिविधि पार्टीको केन्द्रीय समितिलाई अवगत गराउँदै लेखकले ५५ वटा प्रतिनिधिसभाका ५१ वटा बैठकमा प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गरेका जानकारी गराएका हुन् ।
‘यसबीचमा ५५ वटा प्रतिनिधिसभा बैठकमा ५१ दिन बैठक बस्यौं । यो बीचमा सदन निरन्तर अवरोध हुने स्थिति बनिरहेको छ । प्रमुख प्रतिपक्षी ज्यादा एग्रेसिभ र अधैर्य भइरहेको छ । यो स्थिति अझै जारी छ’ लेखकले भने, ‘जलहरीमा सुनको सट्टा पित्तल मिसाएको भन्दै माओवदी सांसदको भनाइ, प्रधानमन्त्रीको अभिव्यक्ति, नगारिकता, सुन तस्करी मात्रै होइन विनियोजन विधेयकमा कोशी प्रदेश नाम लेख्न छुटेकोमा समेत एमालेले बैठक अवरोध गरिरहेको छ ।’
एमालेको यसै अवरोधले संसदले ठीक ढंगले काम गर्न नसकेकोसमेत उनले बताए ।
‘निरन्तर बैठक अवरोध गर्दा सदनले ठीक ढंगले काम गर्न सकेको छैन । किनकि निरन्तर अवरोध हुँदा संसदीय व्यवस्थालाई कमजोर गर्छ । यसैले यसबारे केन्द्रीय समितिले आवश्यक निर्णय गर्नुपर्छ ।’ लेखकले भने ।
सुन तस्करीको विषयमा छानबिन गर्ने उच्चस्तरीय आयोग अझै नबनेकोसमेत उनले बताए ।
सुनको अवैध पैठारीबारे आयोग बनाउने सहमति गरेका थियौं । आज ५ गतेदेखि काम शुरु गर्ने भनेर आयोग गठन गर्ने भनिए पनि र तर अझै भएको छैन’ उनले भने, ‘आज वार्ता गरेर गठन गर्ने कुरा छ । सरकारले पहल गरेर निकास निकालोस् भन्न चाहन्छु । पहल गरेर छिटो आयोग गठन गर्नुपर्छ ।’