बालसुधार गृहमा राखिएका बालकको मृत्यु तथा सुधार गृह तोडफोडका घटनाको अनुसन्धान गर्न एड्भोकेसी फोरम–नेपालले माग गरेको छ ।
भक्तपुर, पर्सा र बाँकेका बालसुधार गृहमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै फोरमले त्यसलाई समाधानका लागि तत्काल कदम चाल्न जरुरी रहेको जनाएको हो ।
‘विगत केही समयदेखि देशका तीनवटा बालसुधार गृहहरूमा भएको बालकहरूको मृत्यु तथा सुधार गृह तोडफोडको घटनाप्रति एड्भोकेसी फोरम–नेपाल चिन्ता व्यक्त गर्दछ,’ निर्देशक विकास बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भक्तपुर, पर्सा र बाँकेका बालसुधार गृहमा भएका दुःखद् घटनाले देशभरीका सुधार गृहहरूको अवस्था सामान्य नरहेको र त्यसलाई समाधानका लागि तत्काल कदम चाल्न जरुरी रहेको हाम्रो ठहर छ ।’
फोरमले सुधार गृहमा भएका घटनाहरूको यथाशीघ्र सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कारवाही गर्न, बाल न्यायसम्बन्धी कानून तथा संयन्त्रहरूको प्रभावकारी र व्यावहारिक कार्यान्वयन गर्न, उचित भौतिक पूर्वाधार निर्माण गर्न, पर्याप्त पोषणयुक्त खाजा तथा खानाको प्रबन्ध गर्न, शिक्षा तथा सीप विकास तालिमको व्यवस्था गर्न, उमेर वर्गीकरण गरी बालबालिकालाई छुट्टाछुट्टै सुधारगृहमा राख्न र बालसुधार गृहमा भएका समस्याहरू पहिचान गरी यथाशीघ्र निराकरण गर्न पनि माग गरेको छ ।
भक्तपुर बालसुधार गृहमा भदौ ३ गते १८ वर्षीय किशोरको समयमै उपचार नपाउँदा मृत्यु भएको भन्दै बालकहरू तोडफोडमा उत्रिँदा परिस्थिति नियन्त्रणभन्दा बाहिर गएको थियो ।
त्यसपश्चात् १४ जना बालकलाई वीरगञ्ज, १४ जनालाई हेटौंडा, १३ जनालाई भैरहवा र ६ जनालाई डोटीको बाल सुधार गृहमा सारिएको थियो । भदौ २६ गते वीरगञ्ज बालसुधार गृहमा ढुंगामुढा र तोडफोडको घटना भएको थियो । घटनामा संलग्न १५ बालकलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्सा हिरासतको महिला सेलमा राखिएको छ ।
त्यस्तै, हिजो रातिदेखि नेपालगञ्जस्थित बालसुधार गृहमा दुई पक्षबीच भएको झडपमा एक बालकको मृत्यु र ११ जना घाइते भएका छन् । ९ जना फरार छन् ।