२५ जेठ २०८३, सोमबार
टिप्पणी

‘एक भागवत र एक गीता’: यसकारण व्यापारमा चुक्यो चलचित्र

असोज ६, २०८०
काठमाडौं
‘एक भागवत र एक गीता’: यसकारण व्यापारमा चुक्यो चलचित्र

एक समयकी ‘हिट’ अभिनेत्री झरना थापा पछिल्लो समय निर्देशकका रूपमा सक्रिय छिन् । ६ वर्षअघि ‘ए मेरो हजुर २’बाट निर्देशनमा होमिएकी उनले त्यसपछि क्रमशः ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृङला निर्माण गरिन् । उनले निर्देशन गरेका तीनवटै चलचित्र बक्स अफिसमा ‘हिट’ भए । 

‘ए मेरो हजुर’को चौथो श्रृङखलापछि भने झरनाले ‘एक भागवत र एक गीता’ (परिमार्जित नाम) निर्देशन गरिन्, जुन चलचित्र अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको छ । 

तर, यसपटक भने झरनाले आफ्ना अगाडिका चलचित्रजस्तो सफलता पाउन सकिनन् । अघिल्ला चलचित्रबाट बम्पर ओपनिङको स्वाद चाखेकी उनले यसपटक कमजोर ओपनिङमै चित्त बुझाउनुपर्‍यो । 

चलचित्रको व्यापार पछिल्ला दिनमा पनि सुखद् देखिएको छैन । व्यापार सुखद् नदेखिएपछि चलचित्रले दर्शक तान्न नसक्नुका कारणहरूबारे विभिन्न अड्कलबाजीहरू गरिएको छ । यहाँ पनि हामीले चलचित्र अपेक्षित नचल्नुका केही कारणहरू केलाउने प्रयास गरेका छौं । 

लभस्टोरीबाट संवेदनशील कथातर्फ मोडिनु, कथावाचनमा चुक्नु
झरनाका यसअघिका तीनवटै चलचित्र लभस्टोरी जनरामा बनेका थिए । तर, यसपटक लभस्टोरीबाट बाहिर निस्किएर उनी सामाजिक कथातर्फ सोझिइन् । मैथली कथा र संस्कृतिलाई मूलधारमा समेट्दै यौनिक तथा अल्पसंख्यक समुदायको संवेदनशील मुद्दामा ‘एक भागवत र एक गीता’ निर्माण गरिन् । यो प्रयासका लागि झरना प्रशंसाकी पात्रसमेत हुन् । 

null

यद्यपि, कथा वाचनमा चुक्न पुग्दा चलचित्रले उठाउन खोजेको मुल मुद्दाले दर्शकलाई केन्द्रित गराउन नसकेको हो कि भन्ने भान हुन्छ । 

लभस्टोरी चलचित्रका लागि चिनिएकी झरनाले फरक विषयमा चलचित्र बनाउनाले दर्शकले पहिलेजस्तो चासो नदिएका हुन् कि भन्ने टिप्पणीसमेत गर्ने गरिएको छ । 

‘ए मेरो हजुर’ भन्दा बाहिरी नाममा चलचित्र बनाउनु
हिट चलचित्रको नामलाई निरन्तरता दिँदा प्रचारप्रसारमा ठूलो टेवा पुग्ने विश्वास लिइन्छ । हिट चलचित्रको श्रृङ्खलाबाट सजिलै लगानी उठाउन सकिने मान्यता निर्माताहरूले राख्ने गरेका छन् । त्यसैले पनि निर्देशकहरू आफ्ना अगाडिका हिट चलचित्रको नामलाई निरन्तरता दिँदै आएका छन् । तर,  सिक्वेल बनाउँदा सिर्जनासमेत मर्न सक्ने कतिपय समीक्षकहरूले बताउने गरेका छन् । 

सिक्वेल आफैँमा नराम्रो नभए पनि ब्राण्ड भ्यालु बेच्नकै लागि सिक्वेल बनाउनु भनेको नाम भजाएर खानुजस्तै भएको तर्क उनीहरूले गर्ने गरेका छन् । झरनाको सन्दर्भमा उनले जुन ‘रिस्क’ लिएर ‘ए मेरो हजुर’ श्रृङ्खलाबाट बाहिर आइन्, त्यसलाई सकारात्मक रूपमा लिन सकिन्छ । यद्यपि, ‘ए मेरो हजुर’को श्रृङ्खलालाई निरन्तरता नदिनुले व्यापारमा केही हदसम्म असर गरेको सहजै आकलन गर्न सकिन्छ ।

प्रचारप्रसारमा प्रर्याप्त समय दिन नपाउनु
यो चलचित्रले नामका कारण केही समय विवादको सामना गर्नुपरेको थियो । जसका कारण निर्माण टिम चलचित्र रिलिजको मुखमा धार्मिक संस्थासँग पटक–पटक छलफलमा बस्नुपरेको थियो । यसले चलचित्रको प्रचारप्रसार प्रभावित बनेको थियो । 

विवाद आउनुअगाडि पनि चलचित्रको प्रचारप्रसार राम्रोसँग हुन सकेको थिए । झरनाको विगतका चलचित्रको भन्दा यसपटकको प्रचारप्रसार निकै कमजोर लाग्थ्यो । 

यसर्थ, चलचित्रलाई दर्शकसम्म पुर्‍याउन प्रचारप्रसारमा प्रर्याप्त समय दिन नसक्दा त्यसको केही असर अहिले व्यापारमा समेत देखिन पुगेको अनुमान गर्न सकिन्छ । 

गीतसंगीत पक्षले कनेक्ट नगर्नु
कुनै समय गीत हिट भएको अवस्थामा चलचित्र नै हिट हुने सम्भावना बलियो हुन्थ्यो । त्यसैले अहिले पनि निर्माता/निर्देशक आफ्नो चलचित्रमा स्रोता–दर्शकलाई कनेक्ट गर्न सक्ने गीत होस् भन्ने चाहन्छन् । र, गीतका लागि निकै मेहनत समेत गर्ने गरेका छन् । झरना थापाको सन्दर्भमा पनि यसअघि ‘ए मेरो हजुर’को श्रृङखलाका गीतले राम्रो चर्चा पाएका थिए । 

null

यसपटक भने चलचित्रका गीतले त्यति साह्रो चर्चा पाउन सकेनन् । गीतसंगीत पक्षले स्रोता दर्शकलाई तान्न नसक्नुले पनि चलचित्रको व्यापार कमजोर हुनुमा केही हदसम्मको भूमिका खेलेको मान्न सकिन्छ ।  

अपेक्षित चलचित्रसँग एकैदिन रिलिज हुनु
गत भदौं २९ गते विपिन कार्की, सुहाना थापा, धिरन मगर अभिनित ‘एक भागवत र एक गीता’सँगै दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘नाङ्गो गाउँ’ पनि प्रदर्शनमा आएको हो । यी दुईलाई प्रतिक्षित चलचित्रका रूपमा चर्चा गर्ने गरिएको थियो । तसर्थ, अपेक्षित दुई चलचित्र एकैदिनबाट प्रदर्शनमा आउनुलाई पनि ‘एक भागवत र एक गीता’ले कमजोर व्यापार गर्नुको एउटा कारण मान्न सकिन्छ । त्यसमाथि शाहरुख खान स्टारर चलचित्र ‘जवान’को दबदबा पनि हलमा कायमै रहेको समयमा झरनाको चलचित्र प्रदर्शनमा आएको थियो ।

सकारात्मक प्रतिक्रिया नपाउनु
दुईवटा नेपाली चलचित्र एकैदिन रिलिज भए पनि यदि राम्रो प्रतिक्रिया पाएको भए ‘एक भागवत र एक गीता’को व्यापार सुखद् हुन सक्थ्यो । तर, यो चलचित्रले औसत मात्रै प्रतिक्रिया पायो । जुन प्रतिक्रियाले अगाडिका दिनमा दर्शकलाई हलसम्म तान्नमा अपिल गर्न सकेन । 

‘एक भागवत र एक गीता’ले अपेक्षित व्यापार नगर्नुमा विभिन्न कमी–कमजोरीहरू औल्याइए पनि चलचित्रभित्र रहेका थुप्रै राम्रा पक्षहरूको भने प्रशंसा गर्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्