
पूर्वसभामुख दमननाथ ढुंगानाले नेपालको संविधानले ठूल्ठूला क्रान्तिकारी परिवर्तन अँगालेको भए पनि कार्यान्वयन पक्ष सुखद् नभएको बताएका छन् । नेपालको संविधान बनेको ८ वर्ष पूरा भएको अवसरमा शुक्रबार लेक्स नेपाल र ज्ञानपुञ्जले आयोजना गरेको एक अन्तरक्रियामा उनले संविधानप्रति जनताको ठूलो आशा भए पनि पूर्णरूपमा कार्यान्वयन नहुँदा जनतामा चरम निराशा बढेको बताए ।
कार्यान्वयन पक्षलाई जोड दिने हो भने संविधानलाई पुनरवलोकन नगरी नहुने उनले बताए । ‘अहिलेको प्रमुख आवश्यकता भनेकै संविधानमा भएका व्यवस्थाहरूको उचित कार्यान्वयन किन हुन सकेन ? भनेर तिनको जवाफ खोज्नु हो,' ‘संविधानको पुनरवलोकन र संशोधनको आवश्यकता’ विषयक छलफलमा उनले भने, 'संविधान नै दोषी भएर जनताले आर्थिक समृद्धि र सुशासन प्राप्त गर्न नसकेका हुन् वा सरकार नै प्रभावकारी हुन नसकेको हो त्यसको पहिचान गर्नुपर्यो र सम्बोधन गर्नुपर्यो । संविधानको कार्यान्वयन पक्षलाई जोड दिने हो भने संविधानलाई पुनरवलोकन नगरी त्यो सम्भव छैन ।’
संविधानले गरेका उपलब्धिलाई कार्यान्वयनमा ल्याउने विषयमा तीनवटै मुख्य दलका नेताहरूबीच समझादारी बन्नुपर्ने उनले बताए ।
कार्यक्रममा सहभागी पूर्वकानुनमन्त्री एवम् पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले संविधानसभाबाट जनताका धेरै माग पूरा गर्ने गरी संविधान बनेकोमा कुनै द्विविधा नभए पनि कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण बनेको जिकिर गरे । तर संविधानका उपलब्धिलाई बिर्सिन भने नमिल्ने उनको तर्क छ ।
‘संविधानले गरेका व्यवस्थाहरू सबै सही रूपमा किन कार्यान्वयनमा आइरहेका छैनन् भन्ने भनाइ धेरै हदसम्म सही हो । तिनलाई राज्यले लागू गर्दै लैजानुपर्छ । तर केही पनि लागू भएको छैन भन्ने कुरा पनि सही होइन,' उनले भने ।
संविधानलाई सही रूपमा कार्यान्वयन गर्न पर्याप्त व्यवस्था गरेको खरेलको टिप्पणी छ । संविधानमा गरेका व्यवस्था र उपलब्धिहरू सफल रूपमा कार्यान्वयन हुन सकेनन् भन्दैमा संविधानलाई दोष दिन नमिल्ने खरेलको तर्क छ ।
राष्ट्रिसभाका पूर्वसदस्य रामनारायण बिडारीले संविधानलाई सबैको सहमतिको दस्तावेज बनाउनुपर्ने बाध्यात्मक परिस्थितिले केही कमजोरी हुन गएको भए पनि जनताका मागलाई प्रशस्त सम्बोधन गरेको बताए । यो संविधानले जनतालाई नेतृत्व तहमा पुर्याएको उनले बताए । ‘मलाई सांसद् हुन ५६ वर्ष लाग्यो तर, अहिले ३० वर्षका मान्छेहरू सांसद भएका छन् । यसको कारण के हो ? यो त अहिलेको संविधानले दिएको उपलब्धि होला नि,' उनले भने, ‘हामीले हाम्रो संविधानलाई अन्य देशमा संविधानसँग तुलना गरेर हेर्यौं भने यो जति प्रगतिशील संविधान अन्य देशमा पाइँदैन । हामीले संविधानलाई ज्यादै मेहनत गरेर राम्रो संविधान बनाएका हौँ ।’
संविधानविद् डा. रुद्र शर्माले संविधानले केही महत्वपूर्ण व्यवस्थाहरू गरेको भए पनि त्यसलाई सफल रूपमा कार्यान्वयन गर्न नसकिएको बताए । त्यसका लागि संविधानको पुनरवलोकन नै आवश्यक परेको उनको भनाइ छ । ‘संविधान संशोधनको सवालले कतै ‘प्यान्डोरा बक्स’ खुल्छ कि भन्ने आशंका लिनु पर्दैन । किनकि पहिले हामीले संविधानलाई पुनरावलोकन गर्यौं भनेमात्र त्यसले संशोधनको जग बसाउन सक्छ,' उनले भने, 'जुन कुराले बिस्तारै परिपक्वता प्राप्त गर्दै जान्छ ।’
अहिले समानुपातिक प्रणालीलाई नेताले आफ्नो अनुकूलका मान्छेहरू राखेर गलत प्रयोग गरेको उनले बताए । कमी कमजोरीलाई संशोधनमार्फत् सच्याउँदै जाने हो भने संविधानले स्थायित्व पाउन सक्ने उनको तर्क छ ।
कार्यक्रममा कानुनका विद्यार्थी, कानुन व्यवसायी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कानुन र संविधानका विषयमा हुने यस प्रकारको कार्यक्रमले एउटा शैक्षिक ‘डिस्कोर्स’को वातावरण बनाइ सकारात्मक सन्देश प्रवाह गर्न मद्दत पुग्ने लेक्स नेपालका निर्देशक अधिवक्ता यज्ञराज पाण्डेले बताए । विगत लामो समयदेखि यस प्रकारका कार्यक्रम गरिरहँदा सर्वसाधारणलाई कानुनका विषयमा बुझ्न सघाउ पुगेको र आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिने ज्ञानपुञ्जका अध्यक्ष अधिवक्ता हरि डुम्रेले बताए ।