
अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।
रावायण नामक चलचित्रमा भएको विवादलाई लिएर निर्माता समूहले उनीविरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले लोकान्तरलाई जानकारी दिए ।
'निर्माण पक्षको एक करोड ५ लाखभन्दा बढी खर्च भइसकेको रहेछ, बुधवारबाट सुटिङ शुरु हुनु पर्ने भए पनि उनी निर्माण पक्षको सम्पर्कमा नआएपछि जाहेरी परेको थियो । त्यसपछि पक्राउ गरिएको हो' उनले भने, ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन । त्यसपछि पक्राउ गरिएको हो ।'
केसीले फिल्म खेल्छु भनेर १० लाख रुपैयाँ लिएका निर्माण पक्षले जनाएको छ । तर उनले फिल्म खेल्न नमानेका निर्माण पक्षको दाबी छ ।
रावायण सुदर्शन थापा प्रोडक्सनले निर्माण गर्न लागेको चलचित्र हो ।
सुदर्शन थापाले निर्देशन गर्न लागेको फिल्म ‘रावायण’को शीर्ष भूमिकामा अभिनेता केसी र नीति शाहको अभिनय रहने निर्माण कम्पनीले जनाएको थियो ।