
यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने भएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ रहेता पनि यस वर्षको मनसुन केही दिन ढिलो बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल बंगालको खाडीको उत्तर-पश्चिम भागमा विकास भैरहेको न्यून चापीय क्षेत्र उत्तर-पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएको छ । यसले आगामी ३/४ दिनसम्म देशका धेरै स्थानहरूमा आंशिकदेखि सामान्य बदली भई केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । २४ घण्टाको अवधिमा ५० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा भनिन्छ ।
वर्षाका कारण पहाडी भूभागमा पहिरो जानसक्ने जोखिम छ । यसैगरी ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने, सडक र हवाई यातायात समेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।
बाली भित्र्याउने समय पनि भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।