
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र रहेको विवादित जग्गाका धनीलाई मुआब्जा नदिने निर्णय भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विवादित जग्गाका विषयमा अध्ययन गर्दा मुआब्जा दिनुपर्ने नदेखिएकाले यस्तो निर्णय गरेको हो ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्ण परियोजनामा मुआब्जाको माग गर्दै रनवेलगायत विमानस्थलभित्र पर्ने जग्गाका व्यक्तिको नाममा दर्ता गरी परियोजना कार्यालयमा निवेदन दर्ता भएको थियो ।
मुआब्जा मागदाबीका बिषयमा बसेको मुआब्जा निर्धारण समितिको बैठकले सबै गतिविधि शंकास्पद देखिएकाले हाललाई मुआब्जा नदिने निर्णय भएको प्रजिअ अर्यालले बताए । विमानस्थल निर्माण परियोजनासँग मुआब्जाको दाबी गर्नका लागि जिल्ला मालपोत कार्यालयले जारी गरेको लालपुर्जाका बिषयमा अध्ययन गरी जवाफ दिन मालपोत कार्यालय, रुपन्देहीलाई पत्राचार गर्नेसमेत बैठकले निर्णय गरेको छ । लालपुर्जा दिनुपर्ने कारण माग गर्दै जिल्ला प्रशासन कार्यालयले उठाएका १० वटा विषयमा रहेर जवाफ दिनसमेत मालपोत कार्यालयलाई आग्रह गरेको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा रहेको शवदाहस्थलको जग्गा दलालहरूले व्यक्तिको नाममा नामसारी गरेको तथ्य बाहिरिएसँगै सो क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको रनवे क्षेत्र र विमानस्थलभित्रै पर्ने कालीमाताको नाममा रहेको जग्गा नै जिल्ला मालपोत कार्यालय र ‘दलाल’हरूको मिलेमतोमा पर्वतराजकान्त मिश्राको नाममा नामसारी गरेको खुलेको हो ।
व्यक्तिका नाममा नामसारी गरिएको केही जग्गा गौतमबुद्ध विमानस्थल परियोजनाले यस अगावै अधिग्रहण गरिसकेको थियो । सो जग्गामा अहिले रनवे बनेको छ । हाल रनवे रहेको ७ र ३२ नम्बर कित्ता रहेको जग्गा २०८० वैशाख ८ गते जिल्ला मालपोत कार्यालयले मिश्राको नाममा लालपुर्जा कायम गरिदिएको थियो ।
मिश्राले मुआब्जाका लागि गौतमबुद्ध विमानस्थल परियोजनामा निवेदन पेश गरेपछि रहस्य बाहिरिएको हो । उनीहरूले ४ बिगाहा १७ कठ्ठा ६ धुर जग्गा मिश्रको नाममा नामसारी गरेका हुन् । उक्त जग्गा अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा मुआब्जाका लागि पेश भएको छ । विमानस्थल परियोजनाले सहज तरिकाबाट मुआब्जा दिने हो भने करिब १५ करोड बराबरको मुआब्जा जग्गा धनी मिश्रले प्राप्त गर्ने विमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले बताए ।