
विराटनगरको ग्रिनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु बिक्री गरेर बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जनाविरुद्ध मुद्दा दर्ता हुने भएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । सरकारी वकिल कार्यालयले सोमवार मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
उनीहरूलाई अपहरण, व्यक्ति बेपत्ता, एकीकृत कसुर र सङ्गठित अपराध मुद्दामा प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गर्ने तयारी भएको छ ।
प्रहरीले अनुसन्धान पूरा गरेर प्रतिवेदन शुक्रवार बुझाएको मोरङका प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधिवक्ता रोहित पोखरेलले अनुसन्धान प्रतिवेदन आएकोले अहिले अभियोजन बनाउने काम भइरहेको बताए ।
नवजात शिशु बिक्री गरी बेपत्ता पारेको कसुरमा कोशी अस्पतालका पूर्व मेसु स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डाक्टर कर्णसहित ७ जना पक्राउ परेका छन् ।
ग्रिनक्रसका संचालक कृष्ण खवासले व्यवस्थापकीय भूमिका देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
प्रहरीले खवासलाई मतियार बनाएको छ ।
तर जिल्ला सरकारी वकिलको कार्यालयले उनको संलग्नता नदेखिएको भन्दै प्रतिवादी नबनाउने स्रोतले जनाएको छ ।
प्रहरीले यस घटनामा नवजात शिशु खरिद गर्ने हस्पिटलका सरसफाइकर्मी, पाँच लाखमा शिशु बेच्ने डाक्टर कर्णका सहयोगी नर्सलाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ग्रिनक्रस अस्पतालमा कार्यरत सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका २ की दिलमाया राजवंशी, सूर्यनारायण राजवंशी, सिरहाको कल्याणपुर नगरपालिका १२ की नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राई रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दाहालले जानकारी दिए ।
डा. कर्णले ग्रिनक्रस अस्पतालको ओटी विभागमा कार्यरत सुधामार्फत उक्त शिशुलाई बिक्री गरेको खुलेको छ ।
शिशु खरिद गर्ने राजवंशी दम्पती सुधाका नातेदार रहेको पाइएको छ ।
कर्णले पाँच लाख लिएर बेचेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।