३१ असार २०८३, बुधबार

अर्थतन्त्रमा देखिएको संकट समाधान गर्ने एजेन्डा हामीसँग छ: माधव नेपाल

असोज २२, २०८०
बुटवल
अर्थतन्त्रमा देखिएको संकट समाधान गर्ने एजेन्डा हामीसँग छ: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्थतन्त्रमा देखिएको संकट समाधानको स्पष्ट योजनासहित आफूहरू जागरण अभियानमा होमिएको बताएका छन् । उनले देशको उद्योग धन्दा धरासायी हुँदा देशको अर्थतन्त्र संकटग्रस्त भएको बताउँदै अब कृषि, वन र आफ्नै खनिजमा आधारित उद्योगहरूको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

नेकपा एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत सोमबार बिहान बुटवलमा उद्योगी व्यवसायीहरूसँग गरिएको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नीतिगत रूपमा दलाल र विचौलिया र भ्रष्टहरूको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको बताए । 

उनले प्रधानमन्त्री, मन्त्री र उच्चतहका कर्मचारीहरूको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा पुरै धारासायी बनाएको टिप्पणी गरे । ‘प्रधानमन्त्रीको मिलेमतो, कि मन्त्रीको मिलेमतो हुन्छ, यदि प्रधानमन्त्री मन्त्रीको मिलेमतो नभए निरीह वा अयोग्य हुन्छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने, ‘यसका लागि भ्रष्टाचारविरुद्ध अभियान चलाउनुपर्छ, देशको उद्योग व्यवसाय फस्टाउने गरी नीति बनाउनुपर्छ ।’ 

उनले व्यवसायीहरूमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर नीति, भन्सार नीति र स्वदेशी उद्योगको विकास गरी रोजगारी सृजनाका लागि आफ्नो पार्टीका तर्फबाट पहल कदमी गर्ने बताए । 

बैंकहरूले अर्बौं मुनाफा कमाए पनि उद्योगधन्दाको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन नसकेको बताए । ‘अर्बले मुनाफा कमाइरहेका बैंकहरूले लगानीमा उत्साह दिनुपर्छ, कृषिमा सहुलियत दिएर रोजगारी सृजना गर्ने उद्योगधन्दा खोल्दा मुलुकका लागि फाइदा पुग्छ’ नेपालले भने, ‘त्यसैले सन्तुलन कायम गरेर काम गर्न आवश्यक छ ।’ 

उनले अहिले मुलुकको आर्थिक संकट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसारोकारको मुद्दालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान शुरू गरिएको बताए । 

उनले मुलुकको आर्थिक संकट, उद्योगी व्यवसायीहरूले भोगेका समस्या समाधान गर्न प्रधानमन्त्रीसँग छलफल गर्नेसमेत बताए । ‘विपक्षी दललाई समेत राखेर आर्थिक संकट, रोजगारी र सुशासका विषयमा छलफल गर्नुपर्नेछ,’ नेपालले भने  । 

उनले विपक्षी एमालेले असहयोग गरेको बताउँदै विपक्षीलाई पनि साथमै लिएर अगाडि बढ्नुपर्ने पक्षमा आफूहरू रहेको बताए । तर, एमालेले एकीकृत समाजवादीसँग बस्दा गन्ध आउने भन्दै नबस्ने भनेको सुनेको भन्दै व्यंग्य गरे । ‘हाम्रो श्वास गन्हाउँछ भन्नुहुन्छ, बास्ना आउनेहरूसँग बसे हुन्छ’ अध्यक्ष नेपालले भने –‘मुलुकको राष्ट्रियता र स्वदेशमै रोजगारी सृजना गरी आर्थिक संकटबाट पार लाग्ने कुरामा सबै गम्भीर बन्नुपर्छ ।’ 

उनले अर्थतन्त्रमा देखा परेको संकटबारे समाजवादी जागरण अभियानबाट प्राप्त सुझाव र निष्कर्षहरूलाई प्रधानमन्त्री प्रचण्डसमक्ष पेश गरी कार्यान्वयन गर्न दबाब दिनेसमेत बताए ।

salt training

कमेन्ट गर्नुहोस्