२५ जेठ २०८३, सोमबार
इजरायल घटना

प्रधानमन्त्रीको सचिवालयले भन्यो– नेपालीलाई १/२ घण्टामा सुरक्षित स्थानमा सार्छौं, थप १ मृत्युको आशंका

असोज २२, २०८०
काठमाडौं
प्रधानमन्त्रीको सचिवालयले भन्यो– नेपालीलाई १/२ घण्टामा सुरक्षित स्थानमा सार्छौं, थप १ मृत्युको आशंका

इजरायलको दक्षिणी क्षेत्रमा बंकर लुकेर बसेका नेपालीहरूलाई आजै उद्धार गरेर सुरक्षित स्थानमा सार्ने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लका अनुसार युद्धग्रस्त क्षेत्रमा रहेका सुदूरपश्चिम  विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई अबको एक/दुई घण्टाभित्रै सुरक्षित स्थानमा सार्ने तयारी भएको हो ।

त्यसैगरी इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरूलाई फिर्ता ल्याउनका लागि समेत सरकारले तयारी गरेको उनले बताए ।

'जो सुरक्षित स्थानमा बसेर काम गरिरहेका छन्, ती फर्किन चाहेनन् भने त्यता बसे पनि भयो । जो नेपाल आउन चाहेका छन्, तिनलाई स्वदेश फिर्ता ल्याउनका लागि चार्टर्ड प्लेन पठाउने तयारी भएको छ,' मल्लले लोकान्तरसँग भने, 'पहिले त सबैजना एक ठाउँमा संकलित हुनुपर्‍यो । त्यसपछि कूटनीतिक च्यानल प्रयोग गरी फिर्ता ल्याइने छ ।'

त्यसभन्दा पनि सरकारको प्राथमिकता मृतक नेपालीका शव संकलन गरेर स्वदेश ल्याउनमा पनि केन्द्रित भएको उनले बताए ।

'डिप्लोमेटिक प्रक्रिया पूरा गरी स्वदेश ल्याउन २ दिन जति लाग्न सक्छ,' मल्लले थपे, 'अहिलेसम्म मृतक १० जनाको नाम खुलेको भए पनि थप १ जनाको मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।' 

'सुदूरपश्चिम विश्वविद्यालयबाट गएकामध्ये थप १ जनाको अवस्था अज्ञात छ, अस्पतालमा पनि भेटिएको छैन,' मल्लले थपे, 'उनको अवस्था ज्ञात हुन नसकेकाले मृत्यु नै भएको हो कि भन्ने आशंका समेत गरिएको छ ।'

युद्धग्रस्त क्षेत्रमा ४९ नेपाली रहेकोमा १७ जना आक्रमणकारीको निसानामा परेको उनले बताए । बाँकी पनि बंकरमा लुकेर बसेको बताइएको छ ।

इजरायलभरीमा कुल साढे ४ हजारजति नेपाली रहेको उनले बताए ।

उद्धार र त्यसका लागि भएका तथा हुने प्रयासबारे मन्त्रिपरिषद् बैठकले थप विषयहरू सार्वजनिक गर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्