भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले आज (बुधबार) उनीसहित ४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो ।
महरासहित लोकेन्द्र कुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालयका प्रमुख अच्यूत मणि नेउपानेले जानकारी दिए ।
उनीहरूविरुद्ध अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराधसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको छ ।
उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ बिगो माग दाबी गरिएको छ ।
भेपमार्फत् भएको ९ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा उनलाई गत भदौ १३ गते पक्राउ गरिएको थियो ।