
हस्ताक्षर सनाखतका लागि मुख्यमन्त्रीका दाबेदार कार्कीसहित कांग्रेसका विद्रोही ८ र एमालेका गरी ४६ सांसद कोशी प्रदेश प्रमुख परशुराम खापुङकहाँ पुगेका छन् ।
एमालेका ज्ञानेन्द्र सुवेदी भने आउँदै गरेको बताइएको छ ।
प्रदेश प्रमुख खापुङले आज बिहान ८ बजेपछिदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्दैछन् । समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन उनले भनेका थिए ।
कोशीको मुख्यमन्त्री पदमा नियुक्तिका लागि माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको डा शेखर कोइराला पक्षका केदार कार्कीले ४७–४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
शुक्रवार साँझमा कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दबाब दिँदै कांग्रेसका ८ र एमालेका ३९ सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा गएका थिए । कार्की संस्थापन पक्षसँग विद्रोह गर्दै एमालेसँग मिलेका हुन् ।
संस्थापन पक्षले भने माओवादी केन्द्रका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेको छ ।