
मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेपछि जर्मनीले शतप्रतिशत नतिजा निकालेको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा आइतवार बिहान जर्मनीले अमेरिकालाई उसकै घरमा हराएसँगै प्रशिक्षक बर्खास्तीपछिका २ खेलमा शतप्रतिशत नतिजा निस्किएको हो ।
खेलमा अग्रता भने घरेलु टोली अमेरिकाले लिएको थियो । कप्तान क्रिस्टियन पुलिसिचले २७ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् ।
तर ४ पटकको विश्वविजेता जर्मनी खेलमा फर्कियो । ३९ औँ मिनेटमा कप्तान एकाई गुन्डोगानले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका हुन् ।
त्यसपछि निकलस फुलक्रुग र जमाल मुसियालाले गोल गर्दै जर्मनीको जीत सुनिश्चत गराए ।
जर्मनीले प्रशिक्षक बर्खास्तीपछि गत महिना पहिलो खेलमै जित निकालेको थियो ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले बलियो फ्रान्सलाई २– १ ले पराजित गरेको थियो । यो खेलमा प्रशिक्षकको जिम्मेवारी व्यवस्थापक रुडी भोलरले लिएका थिए ।
त्यसपछि जर्मनीले बायर्न म्युनिखका प्रशिक्षक जुलियन नगेल्मनलाई मुख्य प्रशिक्षक बनाएको थियो । अमेरिकालाई हराउँदै उनले पहिलो खेलमै जीत निकालेका छन् ।
यसअघि मार्चमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिक बर्खास्तीमा परेका थिए ।
त्यसअघि खेलेका ४ खेलमा पनि जर्मनी जितविहीन थियो । ५ मध्ये ४ खेलमा पराजित भएको थियो । यो खेल एउटाबाहेक सबै घरेलु मैदानमा खेलिएका थिए ।
जर्मनी यतिबेला आगामी वर्ष घरमै हुन गइरहेको युरोकपको तयारीमा छ । अब अर्को खेल मेक्सिकोसँग खेल्दैछ । यो खेल ३ दिनपछि हुनेछ ।