कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले भक्तपुरको बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
एमालेका ३९ सांसदको सहयोगमा मुख्यमन्त्री बनेपछि काठमाडौं आएका कार्की शनिबार साँझ बालकोट पुगेका हुन् ।
विराटनगरबाट आएलगत्तै उनले पहिले शेखर कोइरालालाई भेटेका थिए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि ओलीलाई भेट्न पुगेका हुन् ।
‘दुई नेतालाई भेटेपछि उहाँ हाम्रो अध्यक्षलाई भेट्न शनिबार साँझ बालकोट आउनुभएको थियो,’ ओली निकट स्रोतले भन्यो, ‘अध्यक्षले मुख्यमन्त्री भएकोमा बधाई दिनुभयो । कोशीको परिवर्तित चाहनाअनुसार अगाडि बढ्न पनि आग्रह गर्नुभएको छ ।’
कार्की राजनीतिक विश्लेषक एवं डा. शेखर निकटका पुरञ्जन आचार्यसहित बालकोट पुगेका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएकै दिन काठमाडौं आएर भेट गरेका कार्कीले सरकार गठन कसरी गर्ने भन्ने विषयमा तिनै नेतासँग परामर्श गरेको नेताहरू बताए ।
कोशीमा एमालेका सबैर कांग्रेसका विद्रोही ८ नेताको हस्ताक्षरमा मुख्यमन्त्री बने पनि सरकार गठन कसरी गर्ने भन्ने अन्योल अझै हटिसकेको छैन ।
तत्काल एमाले र कांग्रेस शेखर पक्षबाट एक-एक जनालाई मन्त्री बनाउने तयारी कार्कीले गरेका छन् ।
आजै दिउँसो कार्कीले मुख्यमन्त्रीको सपथ लिएर दु जनालाई मन्त्री बनाउने तयारी गरेका हुन् ।