
होटल पौवाले तिलोत्तमा योगिकुटीमा सराय नृत्य प्रदर्शन गर्ने भएको छ ।
नेपालीहरूको महान् चाड बडा दशैंलाई उत्सवका रुपमा मनाउन यस वर्ष होटल पौवाले बुटवल योगिकुटीमा यही १७ गते सराय नृत्य प्रदर्शन गर्ने भएको हो ।
दैवी शक्तिले दानव शक्तिलाई पराजित गरेको खुशीमा परम्परादेखि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायतको जिल्लाहरूमा नाचलाई सांस्कृतिक पहिचान दिन यस वर्षदेखि बुटवल शाखाबाट सराय नाचको प्रारम्भ गरेको होटलका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताए ।
साथै दशैंको अवसरमा पौवाका ३ वटा शाखामा परम्परागत लिङ्गे पिङ राखिएको समेत उनले बताए ।
नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको उनको भनाइ छ ।
विविध सांस्कृतिक पहिचानले सिंगारिएको नेपालका विभिन्न स्थानमा सञ्चालित होटल पौवाले त्यस्ता पहिचानलाई जोगाइराख्न समेत प्रयास गर्दै आएको ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीले बताए ।
पर्यटन प्रवर्द्धनमा देशको कला, संस्कति, रहनसहन, भेषभुषा, खान–पिन लगायतका पक्षको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले पर्यटन उद्योगको एक अंश रहेको हस्पिटालिटी क्षेत्रमा उदाइरहेको होटल पौवाले पनि नेपाली संस्कृति र परम्परालाई आत्मासाथ गर्दै हरेक चाडपर्वलाई उत्सवका रुपमा मनाउँदै आइरहेको दाबी गरे ।
होटलमा सराय नृत्य प्रदर्शन कार्यक्रमको संयोजकसमेत रहेका भण्डारीले पौवाले विगतमा पनि नेपालमा रहेका हरेक भाषाभाषी र जनजातिले मनाउँदै चाडपर्व, संस्कार संस्कृति विशेषलाई लगातार ब्राण्डिङ गरिरहेको दाबी गरे ।
नेपालका लागि नेपाली आतिथ्यतासहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रस्तुतिका रुपमा उदाएको छ ।
स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने देशभर १२ स्थानबाट होटल पौवाले सेवा दिइरहेको होटलका सीईयो कृष्ण गौतमले बताए ।
छिमेकी कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा सञ्चालनमा रहेका छन् ।