३१ असार २०८३, बुधबार

दशैंको शुभकामना दिँदै रेग्मीले भने– धार्मिक सहिष्णुता र भातृत्व कायम राख्दै अगाडि बढौं

कात्तिक ५, २०८०
काठमाडौं
दशैंको शुभकामना दिँदै रेग्मीले भने– धार्मिक सहिष्णुता र भातृत्व कायम राख्दै अगाडि बढौं

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले धार्मिक सहिष्णुता, जातीय सह-अस्तित्व र साम्प्रदायिक सु-सम्बन्धमा खलल पुग्ने खालका संकेत देखा पर्नु दु:खद् भएको बताएका छन् ।

आइतवार विजया दशमी २०८० को अवसरमा शुभकामना दिँदै पूर्वअध्यक्ष रेग्मीले धार्मिक सहिष्णुता र सामाजिक सम्बन्धमा अलमल र खललका संकेत देखा पर्नु वाञ्छनीय नभएको बताएका हुन् ।

सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भातृत्वभाव कायम राख्दै अघि बढ्नु आजको महत्त्वपूर्ण आवश्यकता रहेको समेत उनले बताएका छन् । 

‘धार्मिक सहिष्णुता, जातीय सह अस्तित्व र साम्प्रदायिक सु-सम्बन्ध उदाहरणीय रूपमा रहेको हाम्रो नेपाली समाजमा आज केही अलमल र खललका संकेत देखापरेका छन्, जो वाञ्छनीय होइन । सद्भावपूर्ण नेपाली परम्परा, आपसी प्रेम र भातृत्व भाव कायम राख्दै अघि बढ्नु आजको महत्वपूर्ण आवश्यकता हो,’ रेग्मीले भनेका छन् । 

पूर्वअध्यक्ष अध्यक्ष रेग्मीले संविधान सभाबाट संविधान जारी भई कार्यान्वयन भएको ८ वर्ष पूरा भइसक्दा पनि विकास र समृद्धिको नेपाली आकाङ्क्षा पूरा हुन नसकेकोमा दु:ख व्यक्त गरेका छन् ।

‘इतिहासका विभिन्न कालखण्डमा भएका संघर्ष र आन्दोलनको फलस्वरूप संविधानसभाबाट संविधान निर्माण भई कार्यान्वयनमा गएको पनि ८ वर्ष भइसकेको छ । तर पनि विकास, समृद्धि र सामाजिक रुपान्तरणका लागि नेपाली आवश्यकताको सम्बोधन सुनिश्चित हुन सकिरहेको छैन । यो कुरा नेपाली समाजमा अहम् प्रश्न रूपमा आज पनि रहिरहनु सुखद् पक्ष होइन,’ रेग्मीले भनेका छन् ।

रेग्मी नेतृत्वको सरकारले गराएको चुनावपछि बनेको संविधानसभाले संविधान जारी गरेको थियो । 

पूर्वअध्यक्ष रेग्मीले दु:खमा पनि धैर्य र अभावमा पनि सुखी देखिनु नेपाली समाजको स्वभाव एवं चरित्र रहेको समेत उल्लेख गरेका छन् ।

‘महंगी र गरिबीमा पनि गच्छेअनुसारको आर्थिक र सामाजिक व्यवहार गर्दै खुशियाली साथ दशैं मनाऔं भन्ने आग्रह गर्दछु,’ रेग्मीले भनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्