२५ असार २०८३, बिहीबार

रुकुम पुगेर प्रचण्डले भने– पार्टीको रुपान्तरण अभियान माओवादी घटकको एकताको शुरुवात हो

कात्तिक ९, २०८०
रुकुम पश्चिम
रुकुम पुगेर प्रचण्डले भने– पार्टीको रुपान्तरण अभियान माओवादी घटकको एकताको शुरुवात हो

प्रधानमन्त्री एवम्  नेकपा (माओवादी केन्द)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले शुरू गरेको तीन महिने विशेष रुपान्तरण अभियान माओवादी घटक दलहरूबीचको एकताको अभियान पनि रहेको बताएका छन् । 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–६ मग्गामा बिहीवार आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले अब माओवादीबाट फुटेर गएका दलहरूका बीच एकता आवश्यक छ भने । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी ठूलो पार्टीको रुपमा उदाएका थियौँ । विडम्बना हामी सबै फरक–फरक बाटोतिर लाग्यौँ । हामीले क्रान्ति गर्ने बेला जुन किसिमको प्रतिवद्धता जनता सामु गरेका थियौँ, त्यो प्रतिबद्धता भुल्दै साथीहरु फरक बाटोतिर लाग्नुभयो । शान्ति प्रक्रियापछि उहाँहरूलाई के कुरा चित्तै बुझेन पार्टी नै फुटाउनुभयो ।’

केही साथीहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो  । ‘हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने बेला आएको छ । हामीले समाजवादी मोर्चा नै बनाएका छौँ । त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ । समाजवादी मोर्चाको एउटा अभियान छ । हाम्रो पार्टीको एउटा अभियान छ । यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो,’ उनले भने ।

null 

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार पाँचवर्ष नै टिक्ने दाबी गरे । उनले भने, ‘हामीले निकै बलियो सरकार बनाएका छौँ । यो सरकार पाँच वर्ष नै रहन्छ । कोशी प्रदेशमा केही तलमाथि हुँदैगर्दा गठबन्धनकाविरुद्ध लागेको पनि देखियो । अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ ।’ सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनले आरोप लगाए । सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरु सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ  बनाउन सफल भएको बताए । ‘हामीले छिमेकी र मित्र राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौँ । अझै पनि बलियो हुने छ । मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ । ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्,’ उनले भने । 

वर्तमान सरकार गठन भएपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएका  उनले बताए । उनले भने, ‘हामीले मिटरव्याजीलाई कारबाही गरेका छौँ । नक्कली भुटानी शरणार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौँ । यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरूको ठूलो साथ र सहयोग रहेको छ  ।’

salt training

कमेन्ट गर्नुहोस्