
भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकप प्रतियोगितामा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले रोमाञ्चक जीत हासिल गरेको छ ।
धर्मशालामा शनिवार साँझ सकिएको खेलमा न्युजिल्यान्डमाथि अष्ट्रेलियाले ५ रनको रोमाञ्चक जीत निकोलेको हो ।
अष्ट्रेलियाले दिएको ३८९ रनको विशाल लक्ष्य न्युजिल्यान्डले थोरैले भेट्टाउन सकेन । यसले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३८३ मात्र बनाउन सक्यो । अन्तिम ओभरमा न्युजिल्यान्ड चुक्न पुग्यो ।
न्युजिल्यान्डका लागि रचित रवीन्द्रले शतकीय पारी खेल्दै ११६ रन बनाए पनि त्यो टोलीको जीतका लागि पर्याप्त भएन । यस्तै जेम्स निशम र डरेल मिचेलले अर्धशतकीय पारी खेले । निशमले ५८ तथा मिचेलले ५४ रन जोडे ।
अष्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि ट्राभिस हेडले शतक प्रहार गरे । उनले ५८ बलमा १०० रन बनाएका हुन् । यस क्रममा उनले ६ छक्का र १० चौका प्रहार गरेका थिए । हेड सर्वाधिक १०९ रन बनाउँदै आउट भए ।
न्युजिल्याण्डविरुद्ध आक्रामक शुरूआत गरेका गरेको अष्ट्रेलियाका लागि डेभिड वार्नर ८१ रन बनाएर आउट भएका थिए ।
यस्तै ग्लेन म्याक्सवेलले ४१ रन जोडे ।
न्युजिल्यान्डका ग्लेन फिलिप्स र ट्रेन्ट बोल्टले सर्वाधिक ३–३ विकेट लिए ।
हारका बाबजुद अष्ट्रेलिया ८ अंकसहित तेस्रो स्थानमा कायमै छ । अष्ट्रेलियाले पनि जितेर ८ अंक नै जोडेको छ । तर उ नेट रनरेटमा न्युजिलन्डसँग पछि पर्दै चौथोमा कायमै छ ।
समूह चरण खेलिरहेका १० मध्ये ४ टोलीमात्र सेमिफाइनलमा पुग्नेछन् ।