०२ साउन २०८३, शनिबार

शे–फोक्सुण्डो तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माणमा जोड

कात्तिक १२, २०८०
जाजरकोट
शे–फोक्सुण्डो तालसम्म पुग्न आवश्यक पूर्वाधार निर्माणमा जोड

शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिएको  छ । डोल्पा सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै यहाँ पर्यटक आगमन बढ्ने  स्थानीयको भनाइ छ । 

अहिले जाजरकोट सदरमुकाम तथा मध्यपहाडी लोकमार्ग हुँदै आउने पर्यटक डोल्पाको सदरमुकामसम्म आएर बास बसी अर्को दिन पैदल फोक्सुण्डो ताल पुग्ने गर्दछन् । ताल पुग्नका लागि आधा दर्जन काठको जीर्ण पुलमार्फत सुलिगाड खोला तर्नुपर्ने विवशता रहेको छ  । जीर्ण रहेका ती काठका लाप्काबाट आवतजावत गर्दा दुर्घटनाको सम्भावनासमेत हुने गरेको नलगाड नगरपालिका–८ हल्चौरका रामप्रसाद खत्रीले बताए । 

डोल्पाको दुनैसम्म यातायातका साधनमा जान र आउन सकिन्छ । सुलिगाडबाट पैदल हिँडेर तालसम्म दुई दिनमा पुग्न सकिन्छ । सुलिगाड खोलामा पक्की पुल निर्माण गरी पदमार्गसमेत भरपर्दो भएमा आन्तरिक तथा बाह्य पर्यटक तालसम्म पुग्न सजिलो हुने सरोकारवाला बताउँछन् । पछिल्ला वर्षमा तालसम्म पुग्नका लागि धेरैको चासो बढेको छ । 

फोक्सुण्डो ताल शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ रिग्मोगाउँ नजिकै रहेको छ । समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा रहेको फोक्सुण्डो ताल चार दशमलव ९४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । फोक्सुण्डो तालको गहिराइ एक सय ४५ मिटर भन्ने गरेता पनि स्थानीयले छ सय ५० मिटर गहिरो रहेको दाबी गर्दै आइरहेका छन् । दिनमा मौसमअनुसार पटक–पटक रङ परिवर्तन गर्ने यस ताल अङ्ग्रेजी वाई आकारमा फैलिएको छ भने अर्को विशेषता मानव अङ्ग फोक्सोजस्तो पनि देखिन्छ ।

फोक्सुण्डो ताल, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, फोक्सुण्डो झरनालगायत माथिल्लो डोल्पा सुलिगाडबाट माथि पैदलमार्ग प्रयोग गर्नुपर्ने हुन्छ ।

डोल्पाका अधिकांश खोलानालामा झोलुङ्गे पुल निर्माण जारी रहे पनि सुलिगाडबाट फोक्सुण्डोसम्मको पैदलमार्गमा काठेपुलले नै यहाँ आउने सबै नागरिकलाई तालसम्म पुग्न सहयोग पुग्दै आएको छ । सुलिगाडबाट फोक्सुण्डो तालसम्मको पैदलमार्गमा स्थानीय र पर्यटकका लागि आवतजावतमा सहज होस् भनी झोलुङ्गे पुल निर्माण गरिएता पनि परम्परागत काठेपुल पनि संरक्षण गर्नुपर्ने आवश्यक रहेको शे–फोक्सुण्डो गाउँपालिका वडा नं ८ का वडाध्यक्ष निमा लामाले बताए । उक्त क्षेत्र पर्यटकीय पदमार्ग भएको हुँदा पर्यटकलाई आकर्षित गर्नका लागि पनि काठेपुल संंरक्षणमा सरोकारवाला निकायले जोड दिनुपर्ने आवश्यक रहेको उनको भनाइ छ । 

 पदमार्गका बीच–बीचमा होटल तथा अन्य सुविधा भएमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । वर्षायाममा केही काठेपुल तथा लाप्का भत्किएको र बाटामा समस्या आएका ठाउँमा मर्मत गरी सहजता ल्याउन सके अझै सजिलो हुने सरोकारवाला बताउँछन् । रासस

salt training

कमेन्ट गर्नुहोस्