
म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमै न्युक्यासल युनाइटेडसँग लज्जास्पद हार ब्यहोरेको छ । उसलाई न्युक्यासल ओल्ड ट्रायफोर्डमा ३–० ले पराजित गरेको हो । न्युकासलका लागि म्यागुएल अल्मिरोन, लेविस हल र जोए विलकले गोल गरे ।
यससँगै युनाइटेडको लिगकप उपाधिको रक्षा गर्ने सम्भावना बुधवार राति नै समाप्त भएको छ । गत सिजनको लिगकप फाइनलमा युनाइटेडले न्युक्यासललाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
युनाइटेडसँगै आर्सनल पनि प्रतियोगिताबाट बाहिरिएको छ र उसलाई भने वेस्ट ह्यामले ३–१ ले हराएको हो ।
यता लिभरपुलले भने बर्नमाउथलाई २–१ ले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको छ । यस्तै चेल्सीले च्याम्पियनसिप प्रतिद्वन्द्वी ब्ल्याकबर्नलाई २–० ले पाखा लगायो ।