०६ साउन २०८३, बुधबार
तिहार पर्वको अवसरमा प्रधानमन्त्री प्रचण्डको शुभकामना

प्रधानमन्त्रीको विश्वासः परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा गर्दै सांस्कृतिक आधार तयार पार्न तिहारको महत्वपूर्ण भूमिका रहन्छ

कात्तिक २७, २०८०
काठमाडौं
प्रधानमन्त्रीको विश्वासः परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा गर्दै सांस्कृतिक आधार तयार पार्न तिहारको महत्वपूर्ण भूमिका रहन्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेका छन् ।

सोमवार बिहान तिहारको शुभकामना दिँदै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

‘नेपाली जनताको निकै ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रले आन्तरिक राष्ट्रियतालाई सुदृढ गर्दै देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न हामीलाई निकै ठूलो आधार प्रदान गरेको छ,’ उनले भनेका छन्, ‘तसर्थ, परिवर्तित राजनीतिक व्यवस्थाको रक्षा एवं सुदृढीकरण गर्दै समाजवादको वैचारिक, राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न तिहार लगायतका पर्वहरूको महत्वपूर्ण भूमिका रहने मेरो गहिरो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएको पनि उल्लेख गरेका छन् ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषता एवं अथाह प्राकृतिक सम्पदा र सभ्यताहरूको संगमस्थलका रूपमा रहिआएको छ । विविधतायुक्त हाम्रा संस्कार, संस्कृति र पर्वहरू राष्ट्रका साझा सम्पत्ति मात्र नभएर देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण आधारहरूसमेत हुन्,’ शुभकामना सन्देशमा भनिएको छ, ‘नेपालका विविध जाति, जनजाति र समुदायले मनाउने राष्ट्रिय पर्वहरू प्राकृतिक सम्पदा र ऐतिहासिकतामा आधारित रहँदै आएका छन् । यस्ता पर्वहरूभित्र श्रमप्रति सम्मान, सामाजिक भावना र मित्रता, सामाजिक सहअस्तित्व एवं मानवीय जीवनमा आइपर्ने चुनौतीहरूमाथि सहकार्य र एकताका आधारमा विजय हासिल गर्ने विचार र व्यवहार अन्तर्निहित छन् ।’

तिहार लगायतका पर्वहरू विश्व समुदायमा नेपालको विशिष्ट पहिचान झल्काउने महत्वपूर्ण सन्दर्भसमेत रहेको प्रधानमन्त्रीको भनाइ छ ।

‘यस पर्वले पारिवारिक पुनर्मिलन, सामाजिक सद्भाव र एकता एवं राष्ट्रिय स्वाधीनता बलियो तुल्याउँछ, उत्पादन, श्रम, सूचना र सामाजिक रक्षकको भूमिका निर्वाह गर्ने पशुपन्छीहरूको योगदान र मानिससँगको अन्तरक्रिया प्रगाढ बनाउँछ,’ उनले थपेका छन्, ‘देउसी–भैलो लगायतका सांस्कृतिक क्रियाकलापले उल्लासमय वातावरणका साथै संस्कृति प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्दछ ।’

नेपालीहरू दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गते शुरू भएको हो । सोमवार गाई पूजा हो ।  

शुभकामना सन्देशको पूर्णपाठः 

null

salt training

कमेन्ट गर्नुहोस्