
मोरङको उर्लाबारी–७ बरगाछीको दीपक कार्कीको घरमा भएको आगलागीमा परी घाइते भएकामध्ये केहीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी थालिएको छ ।
लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा २८ जना घाइते भएका थिए । त्यस मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
डाक्टरका अनुसार २ जनाको अवस्था गम्भीर छ । जिल्ला सुरक्षा समितिको बैठकले केही घाइतेलाई काठमाडौं पठाउने निर्णय गरेको मोरङका प्रहरी प्रमुख एसपी दीपक पोख्रेलले जानकारी दिए ।
झापाको बीएन्डसी अस्पतालमा उपचार गर्ने ६ जना बाहेकका अन्य बिरामीलाई काठमाडौं पठाउने तयारी भइरहेको पनि एसपी पोख्रेलले बताए ।
उनका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले गृह मन्त्रालयसँग हेलिकप्टर मगाउने निर्णय गरेको छ ।
घाइतेहरूमध्ये विराटनगरको आर्या न्युरो अस्पतालमा रिद्दीकिरण राई र कुमार तामाङको आइसीयूमा राखेर उपचार भइरहेको छ । तामाङको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइतेमध्ये २ जनाको ८० प्रतिशत शरीर जलेको छ ।
अन्य विरामीको उपचार भने विराटनगरका विभिन्न अस्पतालमा भइरहेको छ । आगलागीमा परी प्रहरीतर्फ एक जना असई, एक जना हबल्दार, दुई जना जवान घाइते भएका छन् ।
केही घाइतेको झापाको बीएमसी, दमकको लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय दीपक कार्कीको घरमा रहेको सुन पसलमा आगलागी हुँदा ग्यास सिलिण्डर विष्फोट भएको प्रहरीको अनुमान छ ।