२९ असार २०८३, सोमबार
सरसर्ती २४ घण्टा

माइतीघर क्षेत्रमा प्रदर्शन निषेध, लुम्बिनीमा मन्त्रालय थप्न कांग्रेसको अस्वीकार

मंसिर ५, २०८०
काठमाडौं
माइतीघर क्षेत्रमा प्रदर्शन निषेध, लुम्बिनीमा मन्त्रालय थप्न कांग्रेसको अस्वीकार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरिएको जनाएको छ। 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूको नाममा उक्त रकम सोमबार निकासा भएको हो ।

जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि २ करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो।
००००
सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ ।
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध १० वटा रिट परेपछि सुनुवाइका लागि कुमार चुडालको एकल इजलास तोकिएको थियो ।

तर सोमवार उक्त रिटको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । 
कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव बिथोलेको भन्दै सरकारले भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
००००
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले सोमवार एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो ।

मंसिर ७ मा दुर्गा प्रसाई र एमालेको युवा संघले प्रदर्शन गर्न लागेपछि प्रशासनले यस्तो निर्णय गरेको हो । 
००००
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् विस्तारका विषयमा दुई दिनसम्म नेताहरूबीच चलेको छलफल विनानिष्कर्ष टुंगिएको छ ।

सरकार विस्तारको गाँठो फुकाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, माओवादी नेतृ ओनसरी घर्तीलगायतका नेता आइतवार र सोमवार दुई चरणमा छलफलमा जुटेका थिए ।

मन्त्रालय थपेर भए पनि सरकार विस्तार गर्ने सत्तारूढ माओवादी केन्द्रको प्रस्ताव नेपाली कांग्रेसका नेताहरूले नमानेपछि छलफलले सार्थकता नपाएको हो ।
००००
नेपाली कांग्रेसले सरकारी कार्यसम्पादनको समीक्षा गर्न बैठक बोलाउने तयारी गरेको छ ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले पछिल्लो राजनीतिक परिवेश, अर्थतन्त्रका चुनौती र सरकारले गरिरहेका कामका विषयमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई बोलाएर छलफल गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
००००
नेपाली कांग्रेसले भूकम्पपीडितलाई बस्ने अस्थायी टहरा तत्काल बनाउन इञ्जिनियरसहितको स्वयंसेवक टोली पठाउने भएको छ ।

कांग्रेस पदाधिकारीको बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पीडितलाई जाडोबाट थप प्रभावित हुन नदिन तत्काल अस्थायी टहरा बनाउनका लागि स्वयंसेवक टोली पठाउने निर्णय गरेको हो । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले  वृद्धवृद्धा र सुत्केरी भएका परिवारका लागि प्राथमिकतामा राखेर टहरा बनाउनुपर्ने सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित आज एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा ३२ वर्षीया भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए ।
००००
नेकपा एमालेको भूकम्पप्रभावित जिल्लाका नागरिकको जीवनरक्षाका लागि उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ । 
पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा भूकम्पप्रभावित जिल्लाका नागरिकले उपचार नपाएर मृत्यु भएको खबरले दुःखित तुल्याएको उल्लेख गर्दै उनीहरूको जीवन रक्षाका लागि उचित प्रवन्ध गर्न आग्रह गरिएको छ । 
००००
भारतबाट तस्करीमार्फत सुनचाँदीको गरगहना ल्याएर बिक्री गर्ने विराटनगरका सुनचाँदी व्यवसायी ६० लाख धरौटी रकम बुझाएर थुनामुक्त भएका छन् ।
भरियामार्फत सुनचाँदीको गरगहना नेपाल ल्याएर बिक्री गरेको आरोपमा  उनलाई विराटनगर भन्सार कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
००००
गृह मन्त्रालय अन्तर्गतका निकायको कार्य सम्पादनमा प्रभावकारिता ल्याउन समिति गठन गरिएको छ । कार्य सम्पादनमा प्रभावकारिता ल्याउन गर्नुपर्ने सुधारका क्षेत्र तथा उपाय र त्यसको कार्ययोजनासमेत बनाउने प्रयोजनका लागि मन्त्रालयले सोमबार समिति गठन गरेको हो ।
००००
शुक्रवारदेखि सम्पर्कविहीन स्याङजाका प्रकाश ढकाल धादिङमा मृत फेला परेका छन् । आइतबार बेलुका धादिङको रोराङ गाउँपालिका(७ स्थित कृष्णभिर नजिकै ढकाल मृत फेला परेको प्रहरीले जनाएको छ । 
सडकबाट तल खसेको अवस्थामा उनको शव भेटिएको धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्