१० साउन २०८३, आइतबार

एमाले रुपन्देहीले पठायो रुकुम पश्चिममा अस्थायी आवास बनाउन स्वयंसेवक टोली

मंसिर ५, २०८०
बुटवल
एमाले रुपन्देहीले पठायो रुकुम पश्चिममा अस्थायी आवास बनाउन स्वयंसेवक टोली

नेकपा एमाले रुपन्देहीले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्र रुकुम पश्चिममा स्वयंसेवक पठाएको छ । 

गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

उक्त भूकम्पमा परी १ सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पका कारण २६ हजार ५ सय ५७ निजी घर पूर्णरुपमा ध्वस्त भएका थिए ।

त्यस्तै ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको सरकारी तथ्याङ्क छ । ​​

भूकम्पका कारण घरबार भत्किएर छानोविहीन भएकाहरूलाई ओतलाग्ने भरपर्दो त्रिपाल समेतको व्यवस्था नहुँदा चिसोका कारण कठ्याङ्ग्रिएर १० जना बढीको मृत्यु भइसकेको छ ।

बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती तथा विरामी र अशक्त व्यक्तिहरू झनै विरामी परेका छन् । एमालेले भूकम्पबाट सयौं भौतिक संरचना भत्किएर क्षति भएको पश्चिम रुकुमको आठबीसकोट नगरपालिकामा तत्कालका लागि अस्थायी घरटहरा निर्माणका लागि रुपन्देहीबाट २० जना स्वयंसेवकको टोली पठाएको जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले मंसिर ५ गतेदेखि आगामी १७ गतेसम्म निरन्तर सर्वसाधारणका भत्किएका घरटहरा निर्माणका लागि २० जना स्वयंसेवकको टोली पठाएको बताए । 

अध्यक्ष केसीले भूकम्प प्रभावित क्षेत्रमा काम गर्न आवश्यक पर्ने गैँती, बेल्चा, हाते आरा, हथौडा, खुर्पा लगायतका औजार तथा स्वयंसेवकहरूको सुरक्षँको लागि ज्याकेट, पञ्जा, हेलमेट लगायतका आवश्यक सामग्री र खाने बस्ने खर्च समेतको व्यवस्था गरी पठाइएको जानकारी दिए ।

अध्यक्ष केसीले यसअघि २०७२ सालको भूकम्पबाट ध्वस्त बनेका संरचनाको पूनर्निर्माणको लागि समेत स्वयंसेवक खटाइएको उल्लेख गर्दै अहिले पनि त्यति बेला काममा खटिएका अनुभवी स्वयंसेवकहरूलाई पठाइएको जानकारी दिए ।

विगतमा जस्तै यसपटक पनि भूकम्प प्रभावित क्षेत्रका बासिन्दाको घाउमा मलम लगाउने गरी अनुशासित भएर काम गरेर फर्किन निर्देशन दिए । नेकपा एमालेले यसअघि नै भूकम्प प्रभावित क्षेत्रमा एकहजार एकसय जना स्वयंसेवक परिचालन गरिसकेको जनाएको छ । स्वयंसेवकहरूले भूकम्पले भत्काएका घरभित्रका सामानहरू निकाल्ने, भग्नावशेष पन्छाउने र जमिन सम्याएर अस्थायी घरटहरा बनाउने काम शुरू गरेका छन् ।

पार्टी केन्द्रको तर्फबाट १ हजार र प्रदेशका १ सय गरी ११ सय स्वयंसेवक भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा खटिएको रुपन्देही अध्यक्ष केसीले जानकारी दिए ।

जाजरकोटमा ७ सय र रुकुम पश्चिममा ४ सय स्वयंमसेवक परिचालन भएका छन् ।

एमालेका जनसंगठनहरू नेपाल ट्रेड युनियन महासंघ जिफन्ट, अनेरास्ववियु, राष्ट्रिय युवा संघ नेपाल, राष्ट्रिय खेलकुद महासंघ तथा पार्टीका प्रदेश कमिटीबाट दक्ष जनशक्ति सहितको स्वयंसेवकहरूको टोलीलाई २८ वटा समूहमा विभाजन गरि मंसिर १ गतेदेखि नै खटाइएको एमाले पोलिटब्युरो सदस्य तथा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।

एमालेले २०७२ सालको भूकम्पमा पनि स्वयंसेवक परिचालन गरी २७ हजार २७६ अस्थायी घरटहरा र १३ सयभन्दा बढी विद्यालयका अस्थायी संरचना निर्माण गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्