
जेरुसेलम– इजरायलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रवारसम्म शुरू नहुने बताएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ ।
इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजरायली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीवार यस्तो नहुने सङ्केत गरेका छन् ।
‘हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ,’ उनले विज्ञप्तिमार्फत भने, ‘रिहाइको सुरुआत पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुनेछैन ।’
अर्का इजरायली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि शुरू नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजाबासीहरूका लागि ठूलो झट्का हो ।
जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजरायल र हमास चार दिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकू समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिने छ ।
रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा एक अतिरिक्त दिनको ‘विराम’ हुने इजरायली सरकारले एक दस्तावेजमा बताएको छ । रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् ।
बदलामा इजराइलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ ।
इजरायल, प्यालेस्टिनी लडाकू समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन ।
कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीवार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मकरूपमा भइरहेको’ बताए । ‘अबको केही घन्टामा युद्धविराम सम्झौताको टुङ्गो लगाइने छ,’ उनले भने ।