नेपालबाट इन्डोनेसिया प्रवेशका लागि स्टिकर भिसा अनिवार्य गरिएको छ । बङ्गलादेशको ढाकामा रहेको नेपाल हेर्ने इन्डोनेसिया दूतावासले स्टिकर भिसा अनिवार्य गरिएको जनाएको छ ।
दूतावासका अनुसार इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएपछि नयाँ व्यवस्था गरिएको हो ।
दूतावासले एक सर्कुलर जारी गर्दै भिसासम्बन्धी सम्पूर्ण कार्य इन्डोनेसियाको काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ ।
ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटीहरूको मूल्यांकन गर्दै दूतावासले अब उपरान्त नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाको लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराईभलका लागि पहल भइरहेको बताएका छन् ।
नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न इन्डोनेसियाली सरकारले नयाँ व्यवस्था लागू गरेको उनले जानकारी दिएका छन् ।