०८ असार २०८३, सोमबार

विवाहमा गएका २६ वर्षीय युवकको कुटपिटबाट मृत्यु, ७ जना पक्राउ

मंसिर १३, २०८०
काठमाडौं
विवाहमा गएका २६ वर्षीय युवकको कुटपिटबाट मृत्यु, ७ जना पक्राउ
फाइल फोटो

कैलालीको एक विवाह समारोहमा अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको छ ।​​

लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको कुटपिटबाट घाइते भएका अधिकारीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कुलदीप चन्दले बताए ।

उनका अनुसार घोराघाट बस्ने डिल्ली कोइरालाको विवाहमा सहभागी भएका घोडाघोडी नगरपालिका–२ का अधिकारी गएराति अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका थिए । 

उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएका अधिकारीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यसअघि घटनालगत्तै बेहोस अवस्थामा भेटिएका अधिकारीलाई उपचारका लागि लम्की चुहाको लालरत्न अस्पताल र त्यसपछि कोहलपुरको मेडिकल कलेज पुर्‍याइएको थियो ।

कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले लम्कीचुहाका विवेक भुल, विशाल भुल, सन्तोष परियार, गणेश भुल, पिन्टु चौधरी, दिलबहादुर चौधरी र पुरन सार्कीसहित सात जनालाई नियन्त्रणमा लिएको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्