
लुम्बिनीमा शनिबार बिहान स्कूल बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दुई जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–४ महुबारीस्थित लुम्बिनी–ककरहवा सडक खण्डमा आज बिहान ९ बजे दुर्घटना भएको हो ।
रूपन्देहीको लुम्बिनीबाट कालीदहतर्फ जाँदै गएको लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई लु १ क १७७८ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर–४ का २१ वर्षका महम्मद इसाद र १६ वर्षकै रूपसना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
दुईघटनामा मोटरसाइकलमै सवार १२ वर्षकै अप्सना खानुत घाइते भएकी छन् । घाइते अप्सनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ । घाइते खातुनको अवस्था गम्भीर छ ।
रूपन्देहीका प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टले उनीहरू एकै परिवारको रहेको बताइए पनि पुष्टि हुन बाँकी रहेको बताए ।
महम्मदले बहिनी रूपसना र अप्सरा (भदैनी)लाई मदरसा लैजाँदै थिए । तर, मदरसा नपुग्दै दाजुबहिनीको दुर्घटनामा मृत्यु भएको छ । भदैनी गम्भीर घाइते छिन् । मोटरसाइकलमा तीन जना सवार थिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।
डीएसपी भट्टका अनुसार शनिबार स्कुल बस कहाँ जाँदै थियो भन्ने खुलेको छैन । बस चालक फरार रहेको र उनको खोजी भैरहेको उनले बताए ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विनोदकुमार श्रीवास्तवले मदरसा जाने क्रममा गाडीले ठक्कर दिएको बताए । ‘वडा नम्बर ४ अमारी गाउँका छेदी मुसलमानका इसाद र रुपसना छोराछोरी हुन्,’ वडाध्यक्ष श्रीवास्तवले लोकान्तरसँग भने, ‘लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १३ कालीदहस्थित बहिनी र भदैनी (दाइको छोरी)लाई मदरसा छोड्न जाँदै थिए । बाटोमा गाडीको ठक्करबाट इसाद र रुपसनमा मृत्यु भयो । नातिनी घाइते छन् ।’
मदरसा मुस्लिस समुदायका बालबालिका पढ्ने शैक्षिक संस्था हो । मदरसा शनिबार पनि खुल्ने गर्छ ।