२९ असार २०८३, सोमबार

सोमालियामा बाढीका कारण मृत्यु हुनेको संख्या एक सय नाघ्यो, १० लाख बढी मानिस विस्थापित

मंसिर १८, २०८०
काठमाडौं
सोमालियामा बाढीका कारण मृत्यु हुनेको संख्या एक सय नाघ्यो, १० लाख बढी मानिस विस्थापित
फाइल तस्वीर

सोमालियामा भएको भारी वर्षा र आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११० पुगेको र २४ लाखभन्दा बढी प्रभावित भएका संयुक्त राष्ट्रसंघीय मानवीय निकायले आइतबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले सोमालियामा एल निनोका कारण आएको विनाशकारी बाढीका कारण कम्तीमा ३६ जिल्लाका १० लाखभन्दा बढी मानिस विस्थापित भएको जनाएको छ ।

सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो अपडेटमा ओसिएचएले भनेको छ, “हिर्शाबेल र जुबाल्याण्ड राज्यका १० स्थानमा बाढीमा फसेका दशौं हजार मानिसलाई उद्धार गर्न कम्तीमा ३७ वटा डुङ्गा परिचालन गरिएको छ ।”

गत अक्टोबरमा आएको बाढीका कारण देशभरका पूर्वाधार, व्यापार, शिक्षा र खाद्य आपूर्ति सेवा समेत प्रभावित भएको छ ।

चार दशकयताकै सबैभन्दा खराब (लामो) खडेरीपछि आएको बाढीले पशुधन र बालीनाली नष्ट भएको छ भने खडेरीले देशलाई अनिकालको सङ्घारमा पुर्‍याएको छ ।

ओसीएचएका अनुसार, हिरशाबेल र गाल्मुडुग राज्यहरूमा हैजाको शंकास्पद घटनाहरू रिपोर्ट गरिएका कारण पानीबाट सर्ने रोगहरूको सम्भावित फैलावटको बारेमा चिन्ता बढ्दै गएको छ ।

मानवीय सहायता, अधिकारी र स्थानीय समुदायले कम्तीमा आठ लाख २० हजार मानिसलाई सहयोग गरेको छ, जुन प्रभावितमध्ये करिब ३० प्रतिशत हो । 

हिर्शाबेल राज्यको जौहर शहरको पूर्वमा २० वटा गाउँ डुबानमा परेका छन् । एक महिनादेखि जलमग्न भएको महादे सहरमा केही घर भत्किएका ओसीएचएले जनाएको छ । 

मानवीय संस्थाहरूका अनुसार सोमालियामा हालैका वर्षहरूमा आएको चरम मौसमी घटनाहरूको शृङ्खलामा बाढी पछिल्लो हो, जहाँ समुदायहरू विश्वव्यापी जलवायु सङ्कटको तीव्र अवस्थामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्